प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : संगठनात्मक कार्यक्रम
प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा नेपाल प्रहरी पहरा गण, सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-२०

काठमाण्डौ, २० असार        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार बिहान नेपाल प्रहरी पहरा गण सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ‘नेपाल प्रहरी पहरा गण सामाखुशीबाट विभिन्न विदेशी कुटनैतिक नियोग तथा राजदुतवासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकोले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले सभ्य बोली, वचन र व्यवहारका साथ उत्कृष्‍ट कार्य गर्न’ निर्देशन दिनु भयो ।     प्रहरी कर्मचारीद्वारा यदाकदा गैरव्यवसायी कार्यहरू भएका गुनासाहरू समेत प्राप्‍त हुने हुँदा गण प्रमुख आफै उच्च अनुशासनमा रही मातहत सकल दर्जालाई उत्प्रेरित गरी संगठनले अंगिकार गरेको लक्ष्य प्राप्‍तिमा अग्रसर हुन पर्ने जोड दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन
२०७९-०७-२२

काठमाडौं, २२ कात्तिक           प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार निर्देशन सम्बोधन गर्नुभएको छ ।           प्रहरी नायव महानिरीक्षक राणाले निर्वाचनको समयमा हुन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुसार कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन दिनुभयो । सम्पूर्ण देश चुनावी माहोलमा रहेको अवस्थामा प्रहरी अझै थप सक्रिय भई प्रहरीको दैनिक काम कारवाहीलाई समेत निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।           प्रहरी नायव महानिरीक्षक राणाले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई थप उर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकता अनुसार सम-सामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताउनुभयो । संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामुहिक भावना र एकिकृत भई कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै 'Helping Hand' का रुपमा रहेका म्यादी प्रहरीको समेत प्रभावकारी रूपमा परिचालन गरी निर्वाचनको समयमा शान्ति सुरक्षालाई थप सुदृढ एवं मजबुद बनाउन उपस्थित कार्यालयका प्रमुखहरूलाई प्रहरी नायव महानिरीक्षक राणाले निर्देशन दिनुभयो । 

सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकको बिदाइ
२०७९-०७-२२

काठमाडौं, २२ कात्तिक             सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।             बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।             धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक किरण राणाले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायव महानरीक्षकहरूले सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।     उक्त अवसरमा, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

निर्वाचन केन्द्रित सुरक्षा समन्वयात्मक बैठक सम्पन्न
२०७९-०७-०२

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ केन्द्रित सुरक्षा समन्वयात्मक बैठक उपत्यका कमाण्ड हेडक्वाटर नारायणहिटी काठमाडौंमा बुधबार सम्पन्न भएको छ । निर्वाचनको सुरक्षा चुनौती र काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा  उपत्यका पृतनापति उपरथी योगराज शर्मा, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी बल नेपाल, श्री नं.९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका सह- अनुसन्धान निर्देशक भूमी पाठक र अन्य सुरक्षा अधिकृतहरूको उपस्थिति रहेको थियो । बैठकले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सुरक्षा योजना बमोजिम सबै सुरक्षा निकायको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने तथा  नियमित तथा आकस्मिक रूपमा  छलफल एवम् समन्वय गरी उपत्यकाको निर्वाचन लाई निष्पक्ष, त्रुटिरहित, भयरहित एवम् शान्तपुर्ण वातारणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

नवनिर्मित भवनहरूको उद्‍घाटन
२०७९-०४-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।            कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।             अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।             मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरूरी छ ।’              प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।              उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गर्नुभयो ।             कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने उल्लेख गर्दै उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।             काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ईन्जिनियर रोशन सारूले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।              उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०७९-०४-१७

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको निर्णयले प्राविधिक तथा जनपदतर्फका विभिन्न पदमा पदोन्नति भएका १० जना प्रहरी कर्मचारीहरूलाई  प्रहरी नायव महानिरीक्षक किरण राणाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा  मंगलबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ हवल्दारबाट सोही समुहको प्रहरी सहायक निरीक्षक २ जना, प्राविधिकतर्फका प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा ३ जना  र जनपद तर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा ५ जना  रहनुभएको छ ।  पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम
२०७९-०४-०६

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा काठमाडौं बसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नुभयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।         कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न संस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।             प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफएम सुन्नका लागि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले सांगितिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्‍याउन स्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नुभयो ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।             काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।            साँस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न सांगितिक प्रस्तुती गरिएको थियो ।              कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूको बिदाई
२०७९-०१-१८

सेवा निवृत्त हुन लाग्नु भएका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूको बिदाई: नेपाल प्रहरी संगठनमा आफ्नो ३० बर्ष सेवा अवधि पुरा गरी सेवा निवृत्त हुन लाग्नु भएका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूलाई आइतबार आयोजित विशेष  समारोहबीच बिदाइ गरिएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई नयाँ जिवनको यात्रा तथा निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय तथा मातहत प्रहरी कार्यालय प्रति हार्दिक आभार प्रकट गर्नुभयो । आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट  गर्दै प्रहरी संगठनले आफ्नो परिचय दिएको हुनाले सेवा निवृत्तपछि पनि संगठनप्रति सदैव सकारात्मक सोच रहने उल्लेख गर्दै संगठन हितको लागि सदैव क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस पवित्र नेपाल प्रहरी संगठनमा रहि देशका विभिन्न स्थानहरुमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी संगठनलाई पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको तर्फबाट “मायाको चिनो प्रदान  गर्नुहुदै प्रहरी नायव महानिरीक्षक श्रीमान् उत्तम राज सुवेदीले हार्दिक बधाई तथा धन्यवाद दिदै सेवा निवृत जिवनको शुभकामना दिनुभयो । कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयबाट  प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू तथा जुप्रअ प्रहरी कर्मचारीहरू लगायतका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो  ।