प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

२०८२-०८-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, १२ मंसिर

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच नगरपालिकाको क्षेत्रभित्र सुरक्षा व्यस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख हरी गोविन्द श्रेष्ठले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

      सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको आधारभुत आवश्यकता शान्ति सुरक्षालाई मध्यनजर गरी नगरवासीको सुरक्षाका लागि सिसिटिभि जडान गर्ने महालक्ष्मी नगरपालिकालाई यस कार्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धानमा महालक्ष्मी नगरपालिकासँग थप सहकार्य गर्दै जाने मन्तव्य व्यक्त गर्नुभयो ।

     सो कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरी गोविन्द श्रेष्ठले राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीसंग आगामी दिनहरूमा पनि सुरक्षा र अपराध नियन्त्रणका लागी थप समन्वय र सहकार्य  गर्दै अगाडि बढ्ने बताउनुभयो ।

           महालक्ष्मी नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण लगायत अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र सुरक्षा व्यस्थापनसंग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । यसका लागि महालक्ष्मी नगरपालिकाको आ.ब २०८२-८३ को बजेट द्वारा कुल १ करोड आर्थिक सहयोग उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी  एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०७-१९

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।  उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।    पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका-२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।