प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८०-१२-०७

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ०७ चैत

     मिति २०८०-१२-०७ गते नेक्सस् इन्टरनेशनल एकेडेमी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कोटेश्वरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम नेक्सस् इन्टरनेशनल एकेडेमी का.न.पा.३२ टाउन प्लानिङ कोटेश्वरमा सम्पन्न भएको छ ।

       कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।

      प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी  चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानीय निकायहरुमा पुन:स्थापना केन्द्रहरूको आवश्यकता समेत औलाउनुभयो ।

     कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले लागूऔषध दुर्व्यसन,रोकथामका उपायहरुको बारेमा  तथा नेपाल प्रहरी साइबर व्यूरो भोटाहिटीका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साइबर अपराध- सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै, कार्यक्रममा नेपाल प्रहरीद्वारा निर्मित लागूऔषध तथा साइबर अपराध सम्बन्धी विभिन्न जनचेतनामुलक भिडियो प्रसारण गरिनुका साथै  नेक्सस् इन्टरनेशनल एकेडेमीका  विद्यार्थीहरुद्वारा राष्ट्रभक्ति नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमका सभाअध्यक्ष नेक्सस् इन्टरनेशनल एकेडेमीका प्राचार्य तथा प्याब्सन केन्द्रिय कार्य समिति महासचिब आर.बी कटुवालले कार्यक्रमका विषयवस्तुको बारेमा जानकारी दिनुका साथै लागूऔषध सेवनले समाजमा गम्भिर घटनाहरु घटन सक्ने हुदा त्यसतर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै साइबर अपराधका घटनामा हरेक नागरिकलाई सजग रहन अनुरोध समेत गर्नु भयो ।  

कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।