प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्वाचन केन्द्रित सुरक्षा समन्वयात्मक बैठक सम्पन्न

२०७९-०७-०२

  • A
  • A-
  • A+
Share

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ केन्द्रित सुरक्षा समन्वयात्मक बैठक उपत्यका कमाण्ड हेडक्वाटर नारायणहिटी काठमाडौंमा बुधबार सम्पन्न भएको छ । निर्वाचनको सुरक्षा चुनौती र काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा  उपत्यका पृतनापति उपरथी योगराज शर्मा, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी बल नेपाल, श्री नं.९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका सह- अनुसन्धान निर्देशक भूमी पाठक र अन्य सुरक्षा अधिकृतहरूको उपस्थिति रहेको थियो । बैठकले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सुरक्षा योजना बमोजिम सबै सुरक्षा निकायको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने तथा  नियमित तथा आकस्मिक रूपमा  छलफल एवम् समन्वय गरी उपत्यकाको निर्वाचन लाई निष्पक्ष, त्रुटिरहित, भयरहित एवम् शान्तपुर्ण वातारणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-१६

मिति २०८२/०३/१६ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२।०३।१५ गतेको निर्णयानुसार मिति २०८२।०३।१५ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक रामेश्वर खरेललाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         प्रहरी निरीक्षक रामेश्वर खरेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, १२ असारललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, १२ असारसामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद २३ लाख १५ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं माइतीघरबाट पक्राउ गरेको हो । साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-१२

काठमाडौं, १२ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Kedia Sewa Foundation का तर्फबाट १ थान रबर बोट, ६ थान प्याडल र १५ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले जल उत्पन्न प्रकोपको अवस्थामा उद्दार कार्यलाई सहज मात्र नभई उद्धारकर्ता र जल उत्पन्न प्रकोपको प्रभावितलाई सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Kedia Sewa Foundation को तर्फबाट उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले  काठमाडौं  उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशललाई अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको र उपत्यका स्थित विभिन्न प्रहरी गणहरुमा प्रहरी कर्मचारीहरु विपद्को समयमा तत्काल परिचालन हुने अवस्थामा राखिएको बताउनु भयो । हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि लाईफ ज्याकेट र रबर बोट तथा अन्य विपद् उद्दार सामाग्रीहरु सहयोगको रुपमा बिभिन्न निकायहरुबाट प्राप्त गरिरहेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने सेवाभावको कार्यमा सहयोग पुर्‍याउने Kedia Sewa Foundation लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै प्राप्त सामग्रीको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।     कार्यक्रममा Kedia Sewa Foundation का (अध्यक्ष) सुमित केडियाले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Kedia Sewa Foundation का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, १२ असारवैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।             पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।