प्रहरी कन्ट्रोल : १००
नेपा
EN

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ

२०८२-०३-१२

  • A
  • A-
  • A+
Share

ललितपुर, १२ असार

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । 

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।  

चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ
२०८३-०६-१६

काठमाडौं, १६ असोज ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।नजिकिँदै गरेका बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित, सहज तथा व्यवस्थित यात्रा सुनिश्चित गर्ने उद्देश्यले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहज टिकट व्यवस्था, तोकिएको भाडा कार्यान्वयन, सुरक्षित यातायात तथा ठगी र अनियमितता नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले बढी भाडा असुली, टिकटमा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुसँग दुर्व्यवहार गर्ने कार्य नगर्न यातायात व्यवसायीलाई आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।साथै, यात्रु सहायता कक्षमा प्राप्त गुनासा तथा समस्याको तत्काल सुनुवाइ र आवश्यक सहजीकरण गर्न प्रहरी तथा सम्बन्धित निकायलाई निर्देशन दिँदै यात्रुहरूलाई आधिकारिक काउण्टरबाट टिकट लिन, आफ्ना सामानको सुरक्षा गर्न तथा कुनै अनियमितता वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।चाडपर्वको अवधिमा बसपार्क तथा यात्रुको चाप बढी हुने स्थानमा आवश्यक सुरक्षा, निगरानी तथा प्रहरी परिचालन सुदृढ गरिने प्रमुख अतिथि राठौरज्यूले बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाज्यू,। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका कार्यालय प्रमुखज्यू, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपरका कार्यालय प्रमुख ज्यू, प्रहरी वृत्त बालाजु र महाराजगंजका कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरू,सार्वजनिक यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन
२०८३-०६-०७

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घघाटनकाठमाडौं, ७ असोज । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।स्थानीय समुदाय, जनप्रतिनिधि, संघ–संस्था, उद्योगी–व्यवसायी तथा सहयोगी दाताहरूको सहकार्यमा निर्माण भएको उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले प्रहरीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास, सद्भाव र सहयोग रहेको उल्लेख गर्दै समुदायको पहलमा निर्माण भएको भवन प्रहरी–समुदाय साझेदारीको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो ।उहाँले पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र स्थानीयवासीको सुरक्षा, अपराध नियन्त्रण, भीड व्यवस्थापन तथा आकस्मिक प्रहरी सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।साथै, प्रहरी कर्मचारीको व्यवहार नम्र, सभ्य, सहयोगी, निष्पक्ष तथा नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै स्थानीय समुदायसँग निरन्तर समन्वय र सहकार्य गरी अपराध रोकथाम तथा प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्री टेकराज अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.ब.उ. दिलीप घिमिरे, प्र.ब.उ. रमेश थापा, प्रहरी वृत्त गौशालाका कार्यालय प्रमुख प्रकाश श्रीमल, जनप्रतिनिधि, भवन निर्माण समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।