प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : संगठनात्मक कार्यक्रम
प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८१-०७-०८

काठमाण्डौ, ८ कार्तिक         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरू प्रहरी संगठनका अत्यन्त जिम्मेवार प्रहरी कर्मचारी भएकाले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नहुने बताउनु भयो ।       अपराध अनुसन्धान नेपाल प्रहरी संगठनले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको बताउदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीहरुले सूचना संकलनलाई बिशेष प्राथमिकतामा राखि आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादार र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।             उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न ।
२०८१-०६-२०

नेपाल प्रहरी वार्षिक कार्य सम्झौता २०८१, बमोजिम  नयाँ जिम्मेवारीमा आउने प्रहरी कर्मचारीहरुको लागि अभिमुखीकरण  (Induction) र जिम्मेवारी पश्‍चात हस्तान्तरण ( Handover) को प्रक्रियालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने साथै प्रहरी प्रशासन कार्यमा प्रभावकारिता अभिवृद्धी गर्नु पर्ने उद्वेश्यका साथ यस कार्यालय तथा मातहत समेतका गरी मिति २०८१।०६।१८ गते प्र.नि.-२३ सहित जम्मा ३० जना र आज मिति २०८१।०६।२० गते प्र.नि.-३ सहित जम्मा ३६ जना गरी कुल जम्मा ६६ जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा  १ (एक) दिनको अभिमुखिकरण (Induction)  अनुशिक्षण सम्पन्न गरिएको छ । अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले प्रहरी कर्मचारी बन्नु भनेको हरेक दृष्टिकोणबाट सबल र सक्षम हुनुपर्ने हुदाँ प्रहरी कर्मचारीले थप विशिष्टिकृत रुपमा सेवा प्रवाह गर्न साथै हरेक प्रहरी कर्मचारीले प्रहरी पोसाकको कदर गर्न तर्फ जोड दिनुभयो । काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीको प्रहरी सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरी कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८१-०४-१७

काठमाण्डौ,१७ साउन         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले  विगतमा जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरेको स्मरण गराउदै, आगामी दिनहरुमा समेत भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी सफल अनुसन्धान गर्न निर्देशन दिनु भयो । साथै सूचना संकलनमा खटिएका तथा सादा  पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नगर्ने समेत बताउनु भयो ।           सोहि क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू प्रति कठोर भई निर्भिकताका साथ कानूनी दायरामा ल्याउनुका साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।             कार्यक्रममा प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०४-०१

काठमाण्डौ, ०१ साउन      तालुक श्री गृह मन्त्रालय, (सचिवस्तर) को मिति २०८१।०३।२८ गतेको निर्णयले मिति २०८१।०४।०१ गतेदेखि लागु हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम (२ क) को खण्ड (क) बमोजिम प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक राजु भण्डारी र तेज बहादुर बस्नेत तथा ऐ.नियमावलीको नियम १२९ को उपनियम (२क) को खण्ड (ख) बमोजिम प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक नारायण बाबु भट्टलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज मंगलबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी नायव महानिरिक्ष कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८१-०३-२३

काठमाण्डौ, २३ असार‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउन दिइएको निर्देशन सम्बन्धी:    मिति २०८१/०३/२३ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।    कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले प्रचलित कानूनका प्रावधानहरुलाई पालना गरी ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाई नागरीकलाई कानूनी राज्यको प्रत्याभूती दिलाउन साथै सेवाग्राहीहरुको गुनासो सम्बोधनलाई प्राथमिकता दिई नागरीक केन्द्रित प्रहरी सेवा प्रवाह गरी काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई सफल पार्न सहकार्य गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।      प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापाले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत सम्पूर्ण मुद्दा चल्ने २१ वटा  प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख, सहायक साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।              

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०२-२०

काठमाण्डौ, २० जेठनेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०२।०८ गतेको निर्णयानुसार जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी वरिष्‍ठ नायव निरीक्षक नेत्र बहादुर घ.म., नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०२।१७ गतेको निर्णयानुसार जनपद तर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षक खेटराज थापा र प्रहरी नायव निरीक्षक दल बहादुर श्रेष्‍ठलाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो

पिक आवरको समयमा जेब्रा क्रसिङ तथा आकाशे पुलमा सामुदायिक प्रहरी परिचालन सम्बन्धमा समिक्षा र आगामी दिनहरुमा थप प्रभावकारी बनाउने सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८१-०२-१७

काठमाण्डौ, १७ जेठकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा काठमाण्डौ उपत्यका स्थित विभिन्न २५ स्थानस्थित सामुदायिक प्रहरी सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पिक आवरको समयमा (०९:००-११:०० बजे र १६:००-१८:०० बजे) महिला बालबालिका तथा जेष्ठ नागरिकलाई सडक वारपार गर्न र ट्राफिक प्रहरीलाई सहयोग गर्न २०८०/०३/०७ गतेबाट ड्यूटी परिचालन गरिएकोमा सो सम्बन्धी समिक्षा र आगामी दिनहरुमा निजहरुद्वारा सम्पादित कार्यलाई थप प्रभावकारी बनाउने सन्बन्धमा १ (एक) दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८०-१२-०७

काठमाण्डौ, ०७ चैत     मिति २०८०-१२-०७ गते नेक्सस् इन्टरनेशनल एकेडेमी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कोटेश्वरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम नेक्सस् इन्टरनेशनल एकेडेमी का.न.पा.३२ टाउन प्लानिङ कोटेश्वरमा सम्पन्न भएको छ ।       कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।       प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी  चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानीय निकायहरुमा पुन:स्थापना केन्द्रहरूको आवश्यकता समेत औलाउनुभयो ।     कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले लागूऔषध दुर्व्यसन,रोकथामका उपायहरुको बारेमा  तथा नेपाल प्रहरी साइबर व्यूरो भोटाहिटीका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साइबर अपराध- सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै, कार्यक्रममा नेपाल प्रहरीद्वारा निर्मित लागूऔषध तथा साइबर अपराध सम्बन्धी विभिन्न जनचेतनामुलक भिडियो प्रसारण गरिनुका साथै  नेक्सस् इन्टरनेशनल एकेडेमीका  विद्यार्थीहरुद्वारा राष्ट्रभक्ति नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमका सभाअध्यक्ष नेक्सस् इन्टरनेशनल एकेडेमीका प्राचार्य तथा प्याब्सन केन्द्रिय कार्य समिति महासचिब आर.बी कटुवालले कार्यक्रमका विषयवस्तुको बारेमा जानकारी दिनुका साथै लागूऔषध सेवनले समाजमा गम्भिर घटनाहरु घटन सक्ने हुदा त्यसतर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै साइबर अपराधका घटनामा हरेक नागरिकलाई सजग रहन अनुरोध समेत गर्नु भयो ।   कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा २०८० सालको महाशिवरात्री लक्षित सुरक्षा योजना
२०८०-११-२४

काठमाण्डौ, २४ फाल्गुण         मिति २०८०/११/२५ गते महाशिवरात्रीमा पशुपतिनाथको मन्दिर परिसरमा मेला लाग्ने र उक्त मेलामा स्वदेशी तथा बिदेशी भक्तजनहरुको अत्यधिक भीड हुने भएकोले सो क्षेत्रमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि मिति २०८०/११/२४ गतेदेखि मिति २०८०/११/२६ गते मेला सम्पन्न नभएसम्मको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौबाट अनुरोध भई आएको ।साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन र जिल्ला प्रहरी परिसर काठमाण्डौ समेत भई संयुक्त रुपमा तयार पारिएको एकीकृत सुरक्षा योजना अनुरुप प्रभावकारी तवरले प्रविधि र प्रहरीको परिचालन गरी पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापन गरिने छ ।·       कमाण्ड पोष्टः–  मिति २०८०/११/२४ गते १०:०० बजेदेखि मेला समाप्त नभएसम्मः-जिल्ला प्रहरी परिसर काठमाडौंका प्र.उ नवराज अधिकारी (K2) को कमाण्डमा मिति २०८०।११।२४ गते १०.०० बजेदेखि मेला सम्पन्न नभएसम्म  रहने ।·       मेलामा कर्डन, पिकेट, मोवाइल गश्ती, पैदल गश्ती, स्टाइकिङ, ड्रोन, सिसिटिभि क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गरिने,·       नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स रहने,·       आपत विपद आई परेमा तालीम प्राप्‍त उद्दारकर्मीलाई रिजर्भमा राखिएको,·       सुरक्षाका अन्य अंगसँग समन्वय गरिने ।क)   मेलाको समयमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:    महाशिवरात्रीमा  सिफ्ट अनुसार परिचालिन जनशक्ति विवरण सिफ्ट पुरुष महिला जम्मा पहिलो ७१९ ३०५ १०२४ दोश्रो ७१९ ३०५ १०२४ अन्तिम ७१९ ३०५ १०२४ जम्मा २१५७ ९१५ ३०७२  मेला सुरु भएदेखि  समाप्‍त नभएसम्म कमाण्ड पोष्‍ट, सादा पोसाक, सञ्‍चार, ड्रोन अपरेटर, फोटोग्राफर, रिजर्भ  सहित परिचालित ४३९  माग बमोजिम ने.प्र.प्र.का, काउ.प्र.का र जि. प्र. परिसर काठमाण्डौ लगायतबाट कुल परिचालित जनशक्ति ३५११ ट्राफिक व्यवस्थापन तर्फ कुल परिचालित ५८३ कुल जम्मा ४०९४                 ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:           १.  मेलाको समयमा सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा यात्रुहरुको आवागमन सुरक्षित गराउने उद्देश्यले ट्राफिक प्रहरी परिचालित हुनेछ  ।         २. उक्त कार्यका लागि ५८३ जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।साथै महाशिवरात्री मेलामा सरिक हुँदा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ: निम्न:१.      आफ्नो स्वास्थ्यको ख्याल गरौँ ।२.     अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।३.     नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।४.     मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी मेलामा नजाऔँ ।५.     ट्राफिक नियमको सदैव पालना गरौँ ।६.      महिला बालबालिका तथा जेष्‍ठ नागरिकलाई दर्शनका लागि सहजीकरण गरौँ ।७.     हर्षोल्लाससहित महाशिवरात्री मनाऔँ, आपराधिक कार्य नगरौँ । “यहाँहरु ढुक्कले महाशिवरात्री पर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!प्रहरी सम्पर्कको लागि:-·         प्रहरी कन्ट्रोल कक्ष - १००, ०१-४२२८४३५, ९८५१२८३०२६,·         ट्राफिक कन्ट्रोल १०३,·         महिला तथा बालबालिका खोज तलास केन्द्र भृकुटीमण्डप १०४,·         जिल्ला प्रहरी परिसर काठमाण्डौ ९८५१२८३०१२, ललितपुर:९८५१२९४५५५ रभक्तपुर: ९८५१२९३१५०·       FB Page: https://www.facebook.com/ktmvalley.nepalpolice.gov.npNepal Police App  प्रहरी वरिष्‍ठ उपरीक्षक (दिनेश राज मैनाली)प्रवक्ताकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी । सम्पर्क: ९८५१२६०४६०

E - QRT (Equipping the Police QRT) को शुभारम्भ तथा QRT परेडको सुरुवात कार्यक्रम सम्पन्न ।
२०८०-११-२३

काठमाण्डौ, २३ फागुनमिति २०८०/११/२३ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख अतित्थ्यतामा e - QRT (Equipping The Police QRT) को शुभारम्भ तथा QRT(Quick Response Team) परेड कार्यक्रम सम्पन्न  भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले e - QRT को शुभारम्भ साथै QRT परेड सुरुवात लगायत QRT कमान्डरलाई QRT ACCESSORIES  समेत हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रस्तुतीकरण प्रस्तुत गर्दै जिल्ला प्रहरी परीसर काठमाण्डौका प्रमुख प्रहरी  वरिष्ठ उपरीक्षक भूपेन्द्र वहादुर खत्रीले प्रहरी कर्मचारी तथा प्रहरी कार्य हमेसा जवाफदेही हुनुपर्ने हुँदा प्रविधीको सहयोगले समाजमा घटित अपराधलाई न्यूनिकरण गर्न तथा प्रमाणमुखी अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने बताउनुभयो । सो कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी  जितेन्द्र कुमार बस्नेतले प्रहरी जनशक्तीलाई दक्ष र आधुनिक प्रविधियुक्त साधन श्रोत सम्पन्न बनाए सही सूचना तथा सही प्रमाण सङ्कलन हुने तथा अपराध अभियोजनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रविधिले सदैव सत्यलाई मात्र  उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन अपरीहार्य भएको अवस्थामा यो कार्य सृजनशील भएको र यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा  प्रविधियुक्त e - QRT ले डिजिटल प्रमाण प्रदान गर्ने हुँदा विभिन्न कसूरको अनुसन्धानमा सहज पुर्‍याउने साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन e – QRT टोली कोसेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो । साथै  QRT ACCESSORIES को प्रयोगले  Real Time Location पहिचान गरी आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परीचालन गर्नुका साथै Police Control Room संगको समन्वयमा सहज बनाउने तथा नागरीक र प्रहरी कर्मचारीको बोली व्यवहारमा समेत निगरानी हुने बताउदै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर तथा भक्तपुरलाई समेत यस्तो सृजनशील कार्य तुरुन्त लागु गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा काठमाण्डौ जिल्ला सरकारी कार्यालयका प्रमुख,सहन्याधिवत्ता सन्देश श्रेष्ठ, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल,जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-१९

काठमाण्डौ, १९ माघ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट शुक्रबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र  व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “जिव्रोको गरिमा मिठो बोलीमा” व्यवहारमा अवलम्वन गर्दै मुस्कान सहितको नागरिक मैत्री सेवा प्रदान गरी उच्च व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभयो   ।     सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायको ध्यान पुग्ने मानव अधिकारको प्रत्याभूति दिलाउदै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।      साथै, प्र.अ.म.नि. थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक नियन्त्रण गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात सि.सि.टि.भि. मनिटरिङ्को सहायताले समेत सफल अनुसन्धान तथा कार्वाही गरिएको वताउदै आउदा दिनहरुमा समेत विभिन्न तालुक  निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, प्रहरी वरिष्ठ उपरीक्षक द्वय राजेन्द्र प्रसाद भट्ट र दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।  

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा नेपाल प्रहरी पहरा गण, सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-२०

काठमाण्डौ, २० असार        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार बिहान नेपाल प्रहरी पहरा गण सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ‘नेपाल प्रहरी पहरा गण सामाखुशीबाट विभिन्न विदेशी कुटनैतिक नियोग तथा राजदुतवासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकोले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले सभ्य बोली, वचन र व्यवहारका साथ उत्कृष्‍ट कार्य गर्न’ निर्देशन दिनु भयो ।     प्रहरी कर्मचारीद्वारा यदाकदा गैरव्यवसायी कार्यहरू भएका गुनासाहरू समेत प्राप्‍त हुने हुँदा गण प्रमुख आफै उच्च अनुशासनमा रही मातहत सकल दर्जालाई उत्प्रेरित गरी संगठनले अंगिकार गरेको लक्ष्य प्राप्‍तिमा अग्रसर हुन पर्ने जोड दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन
२०७९-०७-२२

काठमाडौं, २२ कात्तिक           प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार निर्देशन सम्बोधन गर्नुभएको छ ।           प्रहरी नायव महानिरीक्षक राणाले निर्वाचनको समयमा हुन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुसार कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन दिनुभयो । सम्पूर्ण देश चुनावी माहोलमा रहेको अवस्थामा प्रहरी अझै थप सक्रिय भई प्रहरीको दैनिक काम कारवाहीलाई समेत निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।           प्रहरी नायव महानिरीक्षक राणाले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई थप उर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकता अनुसार सम-सामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताउनुभयो । संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामुहिक भावना र एकिकृत भई कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै 'Helping Hand' का रुपमा रहेका म्यादी प्रहरीको समेत प्रभावकारी रूपमा परिचालन गरी निर्वाचनको समयमा शान्ति सुरक्षालाई थप सुदृढ एवं मजबुद बनाउन उपस्थित कार्यालयका प्रमुखहरूलाई प्रहरी नायव महानिरीक्षक राणाले निर्देशन दिनुभयो । 

सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकको बिदाइ
२०७९-०७-२२

काठमाडौं, २२ कात्तिक             सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।             बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।             धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक किरण राणाले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायव महानरीक्षकहरूले सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।     उक्त अवसरमा, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

निर्वाचन केन्द्रित सुरक्षा समन्वयात्मक बैठक सम्पन्न
२०७९-०७-०२

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ केन्द्रित सुरक्षा समन्वयात्मक बैठक उपत्यका कमाण्ड हेडक्वाटर नारायणहिटी काठमाडौंमा बुधबार सम्पन्न भएको छ । निर्वाचनको सुरक्षा चुनौती र काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा  उपत्यका पृतनापति उपरथी योगराज शर्मा, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी बल नेपाल, श्री नं.९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका सह- अनुसन्धान निर्देशक भूमी पाठक र अन्य सुरक्षा अधिकृतहरूको उपस्थिति रहेको थियो । बैठकले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सुरक्षा योजना बमोजिम सबै सुरक्षा निकायको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने तथा  नियमित तथा आकस्मिक रूपमा  छलफल एवम् समन्वय गरी उपत्यकाको निर्वाचन लाई निष्पक्ष, त्रुटिरहित, भयरहित एवम् शान्तपुर्ण वातारणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

नवनिर्मित भवनहरूको उद्‍घाटन
२०७९-०४-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।            कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।             अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।             मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरूरी छ ।’              प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।              उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गर्नुभयो ।             कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने उल्लेख गर्दै उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।             काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ईन्जिनियर रोशन सारूले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।              उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०७९-०४-१७

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको निर्णयले प्राविधिक तथा जनपदतर्फका विभिन्न पदमा पदोन्नति भएका १० जना प्रहरी कर्मचारीहरूलाई  प्रहरी नायव महानिरीक्षक किरण राणाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा  मंगलबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ हवल्दारबाट सोही समुहको प्रहरी सहायक निरीक्षक २ जना, प्राविधिकतर्फका प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा ३ जना  र जनपद तर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा ५ जना  रहनुभएको छ ।  पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम
२०७९-०४-०६

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा काठमाडौं बसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नुभयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।         कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न संस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।             प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफएम सुन्नका लागि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले सांगितिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्‍याउन स्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नुभयो ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।             काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।            साँस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न सांगितिक प्रस्तुती गरिएको थियो ।              कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूको बिदाई
२०७९-०१-१८

सेवा निवृत्त हुन लाग्नु भएका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूको बिदाई: नेपाल प्रहरी संगठनमा आफ्नो ३० बर्ष सेवा अवधि पुरा गरी सेवा निवृत्त हुन लाग्नु भएका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूलाई आइतबार आयोजित विशेष  समारोहबीच बिदाइ गरिएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई नयाँ जिवनको यात्रा तथा निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय तथा मातहत प्रहरी कार्यालय प्रति हार्दिक आभार प्रकट गर्नुभयो । आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट  गर्दै प्रहरी संगठनले आफ्नो परिचय दिएको हुनाले सेवा निवृत्तपछि पनि संगठनप्रति सदैव सकारात्मक सोच रहने उल्लेख गर्दै संगठन हितको लागि सदैव क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस पवित्र नेपाल प्रहरी संगठनमा रहि देशका विभिन्न स्थानहरुमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी संगठनलाई पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको तर्फबाट “मायाको चिनो प्रदान  गर्नुहुदै प्रहरी नायव महानिरीक्षक श्रीमान् उत्तम राज सुवेदीले हार्दिक बधाई तथा धन्यवाद दिदै सेवा निवृत जिवनको शुभकामना दिनुभयो । कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयबाट  प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू तथा जुप्रअ प्रहरी कर्मचारीहरू लगायतका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो  ।