चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ
२०८३-०६-१६
- A
- A-
- A+
काठमाडौं, १६ असोज ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
नजिकिँदै गरेका बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित, सहज तथा व्यवस्थित यात्रा सुनिश्चित गर्ने उद्देश्यले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहज टिकट व्यवस्था, तोकिएको भाडा कार्यान्वयन, सुरक्षित यातायात तथा ठगी र अनियमितता नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले बढी भाडा असुली, टिकटमा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुसँग दुर्व्यवहार गर्ने कार्य नगर्न यातायात व्यवसायीलाई आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।
साथै, यात्रु सहायता कक्षमा प्राप्त गुनासा तथा समस्याको तत्काल सुनुवाइ र आवश्यक सहजीकरण गर्न प्रहरी तथा सम्बन्धित निकायलाई निर्देशन दिँदै यात्रुहरूलाई आधिकारिक काउण्टरबाट टिकट लिन, आफ्ना सामानको सुरक्षा गर्न तथा कुनै अनियमितता वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।
चाडपर्वको अवधिमा बसपार्क तथा यात्रुको चाप बढी हुने स्थानमा आवश्यक सुरक्षा, निगरानी तथा प्रहरी परिचालन सुदृढ गरिने प्रमुख अतिथि राठौरज्यूले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाज्यू,। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका कार्यालय प्रमुखज्यू, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपरका कार्यालय प्रमुख ज्यू, प्रहरी वृत्त बालाजु र महाराजगंजका कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरू,सार्वजनिक यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।