दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ समापन
२०८२-१०-०३
माघ ३, काठमाडौंप्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ठमेलमा शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ को समापन भएको छ । सो अवसरमा समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढ्दो शहरीकरणसँगै नेपालमा सवारी साधनको चाप बढेको र यसले सवारी दुर्घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको उल्लेख गर्दै यस सचेतनामूलक अभियानले आगामी दिनमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा योजनाबद्ध रूपमा अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि प्रविधिको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकयाहरूसँग समन्वय र सहकार्य गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी, सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम रेग्मी र राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ का क्रियाकलाप र यस अभियानको उपलब्धि बारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, यातायात व्यवसायीहरू, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अवधिभरमा गरिएको विभिन्न कार्यक्रमहरूको सन्दर्भमा रहेर तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा कलाकार मनोज गजुरेल, गायक थानेश्वर गौतम, गायिका आस्था राउत, जोन एण्ड द लोकल्स र प्र्याङ्क स्टार एलिश राईको टिमबाट साँस्कृतिक कार्यक्रमका साथै बालचन्द्र बराल र बबिता बानिया (जेरी) बाट लोक दोहोरी, नेपाल प्रहरी संगीत विद्यालयका कर्मचारीहरू, ट्राफिक प्रहरी कर्मचारीहरू र बालकलाकारबाट नृत्य समेत प्रस्तुत गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सचेतनाको कमी र लापरवाहीले सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न तथा सडक सभ्यता अभिवृद्धि गर्ने उद्देश्यले यही पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो ।