वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
२०८०-०५-१०
- A
- A-
- A+
काठमाण्डौ, १० भदौ
वैदेशिक
रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी
देवचुली नगरपालिका-८ घर भई काठमाण्डौ टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय समिर आले
मगर, रामेछाप उमाकुण्ड गाउँपालिका-१ घर भई काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-८
गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका-३ घर भई
भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय जगत बहादुर खड्का र कास्की पोखरा
महानगरपालिका घर भई ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ
रहेका छन् ।
उनीहरूमध्ये
मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपैयाँ तलबमा काम
लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको, सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा
मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख
रूपैयाँ ठगी गरेको, खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार
रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपैयाँ
ठगी गरेको र गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ
तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपैयाँ
ठगी गरेको खुल्न आएको छ ।
साथै
उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाण्डौ
टोखाबाट, सुनुवारलाई काठमाडौं मनोहराबाट तथा खड्कालाई काठमाण्डौ सामाखुशीबाट शुक्रबार
र गुरूङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई
थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ
।