प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : ठगी
नगद ठगी गरी फरार एक जना पक्राउ
२०७९-०३-०७

काठमाडौं: डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुल्न आएपछि प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट उनलाई पक्राउ गरेको हो ।कुमार उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ । 

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ
२०७९-०३-०१

काठमाण्डौ: पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो । साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

विदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ
२०७९-०२-१२

जेठ १२ काठमाडौं:  विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुजनराजले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगेरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।