वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०२-१८
- A
- A-
- A+
काठमाडौं, वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी
गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं
बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४६ वर्षीय कृष्ण कुमार खड्का, ललितपुर
महालक्ष्मी नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी
(पराजुली) गौतम, काठमाडौं
बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं
महानगरपालिका-६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बुढानिलकण्ठ
नगरपालिका-१० बस्ने झापा घर भएकी ४७ वर्षीया निसा सिवा रहेका छन् । पक्राउ
मध्ये कृष्ण कुमार र भागिरथीले क्रोएशिया, ग्रीस
लगायतका देशहरू पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ५८ लाख ६८ हजार रूपैयाँ, प्रवेशले
सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ९० हजार रूपैयाँ, प्रज्वलले
अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख रूपैयाँ र निसाले कोरिया
पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको
भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले कृष्ण कुमार र भागिरथीलाई ललितपुर महालक्ष्मी नगरपालिका-२
इमाडोलबाट सोमबार तथा प्रवेशलाई ललितपुर महानगरपालिका-१० बाट, प्रज्वललाई
काठमाडौं महानगरपालिका-७ बाट र निसालाई काठमाडौं महानगरपालिका-१६ बाट शुक्रबार
पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।