प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ

२०८३-०२-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुन बहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय संजय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

            यसैगरी काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४० एम्पुल, बुप्रेनोर्फिन १ सय ९ एम्पुल, फेनारगन १ सय ३४ एम्पुल र नगद १७ हजार ७ सय रूपैयाँ सहित कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुली घर भएका २९ वर्षीय सुजन लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.प्र०२-०२८ प ४४७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ । 

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन सम्पन्न
२०८३-०३-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोह बिच प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू एवम् निचोडहरू प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण हुने बताउनुभयो । नेपाल सरकारको प्राथमिकताका विषयहरूलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप संविधान तथा प्रचलित कानुनले निर्दिष्ट गरेको जिम्मेवारी प्रति निष्पक्ष रही उच्च व्यावसायिकताका साथ कार्यसम्पादन गर्न प्रहरी कर्मचारी सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।      प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूले राखेको जिज्ञासाहरूको निरूपण गर्दै अपराधको स्वरूप एवम् प्रवृत्तिको परिवर्तनले थप चुनौतीहरू देखा परेको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध, सामाजिक संजालको दुरूपयोग गरी गलत सूचना/मिथ्या सूचना प्रवाह गर्ने लगायतका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुने अपराध प्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ सम्बोधन गर्नुपर्ने बताउँदै अपराध नियन्त्रण एवम् अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी समुदायसँग समन्वय गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड  दिनुभयो । साथै यस सम्मेलन मार्फत विगतको अनुभव, सूचना संकलन, असल अभ्यासहरू, स्रोतसाधन तथा प्रविधिको प्रयोग, अन्तर सुरक्षा निकाय बिचको आपसी समन्वय लगायतमा अनुभवको आदान-प्रदान र सम्मेलनबाट प्राप्त भएका सुझाव एवम् निष्कर्षहरू आगामी दिनमा कार्यक्षेत्रमा अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।         कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।     काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, संचार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्यसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो ।       समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।          नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण एवम् प्रभावकारी अनुसन्धानलाई आफ्नो मूल दायित्वको रूपमा आत्मसात् गर्दै आइरहेको छ । बद्लिदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउनु आजको आवश्यकता रहेको परिपेक्षमा यीनै विषयहरूको समीक्षा, अनुभवको आदान-प्रदान तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले यस सम्मेलनको आयोजना गरिएको हो । प्रहरी कार्यको वार्षिक समीक्षा गरी चुनौती तथा कमीकमजोरीको बारेमा अनुभव आदान-प्रदान गर्दै सुधारका क्षेत्रहरू पहिचान गर्ने, प्रहरी कार्यको क्षमता अभिवृद्धिको बाटो पहिल्याउने एवम् प्रहरी कार्यको प्रभावकारीतामा वृद्दि गरी, शान्ति सुरक्षा अमनचयन कायम गराउन नीतिगत, संरचनागत लगायत समग्र सुधारका क्षेत्रहरू पहिचान गरी आगामी कार्यदिशा तय गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ५६ वर्षीय माधव श्रेष्ठ र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका छन् ।  उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत १ महिना १५ दिन कैद सजाय र २ लाख २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-०९

भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका-९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् । उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६६ ट्याब्लेट र  अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २७ वर्षीय अजय कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०५२ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ बङ्गलामुखी मन्दिर नजिक बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन ३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।           यसैगरी काठमाडौं महानगरपालिका-२६ ठमेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट, स्पास्पेन ४ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २३ वर्षीय निशान्त सुन्दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

टर्की र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपिका-७ बस्ने बारा निजगढ नगरपालिका-१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका ७० वर्षीय बिर बहादुर श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये सुरेशलाई टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र बिर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-१२ बाट र बिर बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइको छ ।