स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई जना पक्राउ
२०८३-०२-०७
- A
- A-
- A+
काठमाडौं, स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २
जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तपस्या एचआर प्रालिका
संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने इलाम घर भएका ४८ वर्षीय मुकेश भण्डारी र
बुढानिलकण्ठ नगरपालिका-३ बस्ने सिराहा घर भएका ४८ वर्षीय अजित श्रेष्ठ रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अजितको साथबाट विभिन्न व्यक्तिहरूको
राहदानी ३७ थान फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त
राहदानीहरू मुकेशले रोमानिया देशको भिषा प्रोसेसिङका लागि भारत पठाएको खुल्न आएपछि
मुकेशलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मुकेशले
राहदानी विदेश लैजान वैदेशिक रोजगार विभागबाट अनुमति लिनु पर्नेमा विभागबाट अनुमति
समेत नलिएको खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।