वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०१-२३
- A
- A-
- A+
काठमाडौं, वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी
गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं
बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोला गाउँपालिका-३ घर भएका २२ वर्षीय
सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय
निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा
गाउँपालिका-२ घर भएका ३९ वर्षीय विजय कुमार यादव, काठमाडौं चन्द्रागिरी
नगरपालिका-५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ
नगरपालिका-११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रवेश
गुरूङ रहेका छन् । पक्राउ मध्ये सन्दिपले माल्टा
पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, निर
बहादुरले क्रोएशिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ,
विजय कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २० हजार रूपैयाँ,
चिरन्जिवीले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ
र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई
सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दिप र विजय कुमारलाई काठमाडौं
महानगरपालिका-१२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार,
चिरन्जिवीलाई काठमाडौं महानगरपालिका-११ बाट र प्रवेशलाई काठमाडौं
महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।