प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति–सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न ।

२०८२-०५-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०६ भदौ

            काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठले आयोजना गरेको “शान्ति र सुरक्षा : हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नारासहित जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

     कार्यक्रममा कार्यक्रमका विशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठ्ठाराम अधिकारीले स्थानीयस्तरमा सुरक्षालाई बलियो बनाउन सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउदै अपराध नियन्त्रण, आपराधिक गतिविधिको रोकथाम, मादक पदार्थ दुरुपयोगमा न्यूनीकरण, सडक सुरक्षा र सामुदायिक सद्भावलाई प्रवर्द्धन गर्नका लागि नगरपालिका निरन्तर नेपाल प्रहरी संग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

             कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले नेपाल प्रहरीसंग समन्वय साथै सहकार्य गरी समाजमा रहेको विकृती- विसंगतीहरुलाई न्यूनीकरण गर्न महत्वपुर्ण योगदान दिएको स्मरण गर्दै पछिल्लो समय साना उमेरका विद्यार्थीहरु लागू औषधको दुर्व्यसनी तथा साईबर क्राइमको सिकार समेत भइरहेकाले यस्ता अपराध लगायतका मुद्दाहरुको राकथामको निम्ति स्थानीय स्तरमानै नयाँ रणनीति अपनाइ “सुरक्षित उपत्यका: ह्राम्रो प्रतिवद्धता” अभियानको अबधारणा  कार्यान्वयनमा ल्याउने तयारीमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रहेको जानकारी दिनुभयो । साथै आउदै गरेको हरीतालिका तिज पर्वको समेत उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।

      कार्यक्रमका सभाध्यक्ष बुढानिलकण्ठ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यले मात्र सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न सकिनेमा जोड दिनुभयो ।

        उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासाहरु  प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।