प्रहरी कन्ट्रोल : १००
नेपा
EN

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

२०८१-०९-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, २५ पुस

         काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौंको निरीक्षण तथा  निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

      निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रिय स्तरमा राष्‍ट्रको सुरक्षाको स्तर झल्काउनुका साथै नेपाल प्रहरीको गरिमा समेत अभिबृद्दि गर्ने हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हरेक प्रहरी कर्मचारीले “ जिब्रोको गरिमा मिठो बोलिमा” भन्ने नारालाई व्यवहारमा लागु गर्दै हरेक नागरिकको  समान सम्मान प्रदान गर्नुका साथै मानव अधिकारको संरक्षण सगैं नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । साथै डिउटीको समयमा व्यवसायिक मर्यादा विपरितका कार्य गरि प्रहरी बर्दीमा दाग लगाउने प्रहरी कर्मचारीलाई कुनै प्रकारको क्षम्य नहुने समेत बताउनु भयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य नागरिकदेखि अति विशिष्ठ व्यक्तिसम्म साथै आपराधिक मनसाय भएका स्वदेशी/विदेशी नागरिकको आवागमन हुने प्रमुख स्थान समेत भएकोले संभावित खतराको मूल्याङ्कन (Threat Assessment) गरी सोही बमोजिम सुरक्षा योजना (Operational Plan) बनाई विभिन्न निकायसँग व्यवसायिक समन्वय गरी उच्च मनोवलका साथ प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।

   कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर  लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८३-०६-२९

२०८३-०६-२९            काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।