प्रहरी कन्ट्रोल : १००
नेपा
EN

निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १२ असार

     मिति २०८१-०३-१२ गते सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, सानेपा ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवश (June 26, 2024) को अवसरमा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम हेरिटेज गार्डेन, सानेपामा सम्पन्न भएको छ ।

    पुरस्कार वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले भविष्यका कर्णधार स-साना विद्यार्थीहरू लागू औषध सेवन गरी समाजमा गम्भिर घटना घटाउन सक्ने हुदा त्यसतर्फ सचेत हुन तथा मनैदेखि ‘SAY NO TO DRUGS’ नारालाई पालना गर्न अनुरोध गर्नुभयो । साथै, लागूऔषध दुर्व्यसनका घटनाहरुलाई न्यूनीकरण गर्न हरेक स्थानिय तह, टोल-समाज, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम तथा सम्पर्क समिति नै गठन गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।

    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको “सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता:” अभियानलाई मूर्तरूप दिन तथा बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी विभिन्न स्थानिय तह भित्रका सम्पूर्ण सार्वजानिक निजी तथा संस्थागत विद्यालयमा अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता भएकोमा  ललितपुर जिल्लाका स्थानिय तहलाई समेत सम्झौताको निम्ति अनुरोध गर्नु भयो ।

    सो कार्यक्रममा नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीहरुद्वारा नाटक तथा जनचेतनामूलक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।  

     कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,  जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत बिभिन्न  विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८३-०६-२९

२०८३-०६-२९            काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।