प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Law Enforcement, IT and Public Transport Management System सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ०८ जेठ

मिति २०८१/०२/०८ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा Law Enforcement, IT and Public Transport Management System सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक तथा संस्थागत सवारी साधनको सुरक्षित परीचालन तथा समन्वयकारी निकायसँगको समन्वयमा सहज बनाउने  सम्बन्धमा Public Transport Management System को प्रयोग तथा यस सम्बन्धी कानूनी व्यवस्थाका बिषयमा कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘Witness can lie but technology doesn’t’. साक्षीले सत्य नबक्न पनि सक्दछ तर प्रविधिले सदैव सत्य नै उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय समयानूकुल प्रविधिमैत्री भईरहेको साथै यस्ता कार्यक्रमले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, आधुनिक समयमा आधुनिक प्रविधिको प्रयोग गरी अपराध हुने हुँदा त्यसको न्यूनिकरणको निमित्त विद्यालय स्तरमै सचेतना अभियान उपयुक्त हुने हुँदा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहतको प्रयासमा ५ वटा नगरपालिकामा जनचेतनामूलक पाठ्यसामाग्री निर्माण गरि कार्यान्वयनमा ल्याईएको साथै त्यसमा समयानुकुल परिमार्जन गरिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा आवद्व संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल  लगायत वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

रामलक्ष्मण इनोभेसनको तर्फबाट लक्ष्मण रिमालले प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा अधिवक्त्ता डा. सरिता खनालले धन्यवाद ज्ञापन तथा समापन गर्नुभएको थियो । 

सम्बन्धित समाचार
५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०८१-०३-०३

काठमाण्डौ,२ असारकाठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण चौथो समूहको तालिम सञ्चालन
२०८१-०३-०३

काठमाण्डौ,२ असार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण  चौथो समूहको तालिम सञ्चालन भएको छ ।काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठले तालिम उद्घघाटन गर्दै बढ्दो सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी  निरीक्षक शेखर जंग मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान २७ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-३०

काठमाण्डौ, ३० जेठवैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई-भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराईदिन्छु भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । 

प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०२-२७

काठमाण्डौ, २७ जेठनेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०२।२५ गतेको निर्णयानुसार जनपद तर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी  हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार लक्ष्मी कुमारी थारुलाई प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी हवल्दार लक्ष्मी कुमारी थारुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ
२०८१-०२-२४

भक्तपुर, २४ जेठसूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाण्डौ बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्‍व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-२३

काठमाण्डौ, २३ जेठवैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाण्डौ महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।   पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाण्डौ आलोकनगरबाट, राजुलाई काठमाण्डौ नागपोखरीबाट र युवराजलाई काठमाण्डौ तिनकुनेबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।