प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न

२०८०-१२-२६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २६ चैत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।  साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा बल प्रयोगको  सिद्धान्तलाई अवलम्बन गर्दै थप सम्बेदनशील भई मानव अधिकारको उच्चतम सम्मान गर्दै कार्य सम्पादन गर्नतर्फ समेत जोड दिदै काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई मानव अधिकार प्रति संबेदनसील बनाउन काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गर्न  निर्देशन समेत दिनु भयो ।

काठमाण्डौ उपत्यकामा गुण्डागर्दीमा सम्लग्न अपराधिक मनसायका व्यक्तिहरु समेतले विभिन्न प्रकृतिका घटनाहरु घटाउने हुदा गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गर्न निर्देशन दिदै मातहतका प्रहरी कर्मचारी वा कार्यालय प्रमुखहरुले कानून विपरितका कार्यमा सम्लग्न भएमा कठोर कारवाही गर्ने निर्देशन दिनुभयो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
नेपाल प्रहरीमा १ हजार २ सय २३ जनाका लागि नयाँ भर्ना आव्हान
२०८१-०८-२१

काठमाण्डौ, २१ मंसिर नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाण्डौ, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८१-०८-२०

  काठमाण्डौ, २० मंसिर    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिबार काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भयो ।    प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जले विगतको विषम् परिस्थितिको समयमा गरेको उद्दारको कार्यलाई प्रशंसा गर्दै , आगामी दिनहरुमा समेत काठमाण्डौ उपत्यका जस्तो अति संबेदनशिल क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विशेष समारोह, राजनैतिक कार्यक्रमहरुको सुरक्षा तथा हरेक विपद्को धडीमा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी ( Stand By)  अवस्थामा रहन निर्देशन दिनुभयो ।     काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ रिजर्भ युनिट भएकाले यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई हतियार तथा लाठी प्रयोग सम्बन्धमा दक्षता प्रदानको निमित्त समय समयमा अनुशिक्षण गर्न निर्देशन दिनु हुदै भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा न्युनतम बल प्रयोगको सिद्दान्त अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।   आधुनिक समयमा नेपाल प्रहरी कर्मचारी समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी प्रहरी कर्मचारीलाई तालीमको समयमा प्राविधिकको समेत ज्ञान प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन बताउनु हुदै हरेक प्रहरी कर्मचारीले तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भयो ।  सेवा प्रवाहको स्तरमा प्रहरी कर्मचारीहरुको आचरणले प्रभाव पार्ने हुदा बोलि, वचन र व्यवहारमा सुधार गर्दै दुरुस्त पोशाकको प्रयोग गरी स्मार्ट प्रहरीको परिचय दिन समेत निर्देशन दिनु भयो ।    प्रहरी उपरीक्षकद्वय रन्जु सिग्देल र राजेन्द्र प्रशाद धमलाले सम्बन्धित कार्यालयको काम कार्वाहीको सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८१-०८-१३

काठमाण्डौ, १३ मंसिर         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकाश समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौ महानगरपालिका वडा नं.३२, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७,८ र ९  तथा गान्धि आदर्श मा.वि. को सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भयो । हरेक बर्ष 25 Nov (अन्तराष्ट्रिय महिला हिंसा उन्मुलन दिवस)-10 Dec (मानव अधिकार दिवस) सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनी “हामी सबैको प्रतिबद्दता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यवद्धता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।         कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा संवेदनशील भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष, बालबालिका तथा लैंगिक अल्पसंख्यकहरुलाई खुलेर आफ्नो हिंसालाई कानुनी दायरामा ल्याउन आह्वान गर्नुभयो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा बिरुद्ध स्कुल स्तरमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सहभागी गराई  कक्षाहरु सञ्‍चालन गरी सचेतना फैलारहेको साथै सामुदायिक स्तरमा जन चेतना फैलाउन जनचेतना मूलक पाठ्यपुस्तक  तयार गरी विभिन्न स्थानिय तहसगँ सम्झौता समेत गरिसकेको बताउनुभयो ।   उपत्यका प्रहरी कार्यालयले लैङ्गिक संवेदनशीलता लाई मध्येनजर गर्दै मुद्दा चल्ने प्रहरी इकाइ सम्म अनिवार्य रुपमा महिला प्रहरी कर्मचारीद्वारा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरी सो सम्बन्धी सेवा प्रदान गदै आएको जानकारी दिनुहुदै महिला, बालबालिका, फरक क्षमता भएका व्यक्तिहरु तथा लैंगिक अल्पसंख्यक सगँ गर्ने व्यवहारका सम्बन्धमा प्रहरी कर्मचारीहरुलाई नै सचेत गराउन नेपाल प्रहरीले विषेश तालिम समेत प्रदान गराउदै आइरहेको साथै लैङ्गिक विभेदको सम्बन्धमा शून्य सहनशीलतालाई अंगिकार गरेको समेत बताउनुभयो ।             नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीले सचेतनामूलक प्रस्तुती प्रस्तुत गरेको उक्त कार्यक्रम काठमाण्डौ महानगरपालिका ३२ पेप्सीकोला फुटबल मैदान देखि विरेन्द्र चोक हुदै गान्धी आदर्श मा.वि.सम्म प्रभात फेरी पश्चात सभा सञ्चालन गरिएको थियो । सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वरका अध्यक्ष रविन्द्र थापा सभापति रहेको कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाको उपमेयर शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृत विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, गान्धि आदर्श मा.वि.का शिक्षक तथा विद्यार्थीहरु र स्थानीय भद्र भलादमीहरू लगायत अ.६०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-१२

काठमाण्डौ, १२ मंसिर वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाण्डौ टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।             पक्राउ मध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाण्डौ बाफलबाट सोमबार र मनिषालाई काठमाण्डौ नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण
२०८१-०८-०९

काठमाण्डौ, ९ मंसिर            डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।             नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।             हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।             कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।              कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८१-०८-०२

काठमाण्डौ, २ मंसिर         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा आइतवार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।              प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र  व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “मुस्कान सहितको प्रहरी सेवा”  व्यवहारमा अवलम्वन गर्न निर्देशन दिनुभयो   ।     सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति हरेक निकायको ध्यान पुग्ने हुदा मानव अधिकारको प्रत्याभूति दिलाउदै उपत्यकामा सेवा प्रवाह गर्ने अवसरको पूर्ण व्यवसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरी संगठनलाई चलायमान गराउन हरेक प्रहरी इकाईका कार्यालय प्रमुखको महत्वपूर्ण भूमिका हुने हुदाँ हरेक प्रहरी कार्यालयका कार्यालय प्रमुखले पुरस्कृत तथा कार्वाही गर्दा प्रहरी कर्मचारीको आचरण, क्षमता, व्यवहार र प्रहरी कर्मचारीको व्यवसायिक निष्ठा मूल्यांकन गरी अंगिकार गर्न समेत निर्देशन दिनुभएको थियो ।      साथै, प्र.अ.म.नि. बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात समेत सि.सि.टि.भि. मनिटरिङ्को सहायताले सफल अनुसन्धान तथा कार्वाही गरिएको बताउदै आगामी दिनहरुमा समेत समय सापेक्ष रुपले थप प्रविधिमैत्री भई विभिन्न तालुक  निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।    कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहरा, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।