प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध रूपमा भन्सार छलि सुनको कारोबार गर्ने पाँच जना पक्राउ

२०८०-०७-१४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १४ कात्तिक

        अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाण्डौ महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

        पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाण्डौ महानगरपालिका-१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।

        कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाण्डौबाट खटिएको प्रहरीले उनीहरूलाई जम्मा २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

      उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाण्डौ पठाइएको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०३-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रंजना कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने गोरखा घर भएका ३२ वर्षीय सन्तोष तामाङ र काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री प्रसाद पोख्रेल रहेका छन् । पक्राउ मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ, सन्जुले ग्रिस पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ, सुमित्राले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, रंजनाले  अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रूपैयाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार तथा सन्जु, सुमित्रा, रंजना र धात्री प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट, मेनुकालाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार  पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०३-१७

काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र डाईजेपाम ३  एम्पुल सहित चितवन इच्छाकामना गाउँपालिका-३ घर भएका ३९ वर्षीय कृष्ण गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामदास महर्जन र काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् ।  पक्राउ मध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ, रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रूपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले वाङ्दीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट र सन्तोषीलाई काठमाडौं महानगरपालिका-१५ बाट शनिबार, रामदासलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौं काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको  हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिलगुडी चम्पासरी दार्लिङ बस्ने ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।