प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, ७ वैशाख

  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं महानगरपालिकाको सम्पर्क कार्यालय राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र काठमाडौं महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

सो कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो ।

काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०८०-०८-१५

काठमाण्डौं, १५ मंसिर        मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ वटा मोटरसाइकल बरामद भएको छ ।        ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई काठमाण्डौ बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी खरिबोट  बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।        चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका-१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२-०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२-०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२-०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका-२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०८०-०८-१५

ललितपुर, १५ मंसिर        ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाण्डौ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई  भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।        यसैगरी ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुनका जस्तो देखिने विभिन्न गरगहना लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर              वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।                      डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौको गोंगबुबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाण्डौ एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपैयाँ ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बसुन्धराबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।