प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एक जना महिला पक्राउ

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, २९ चैत

    ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३५ वर्षीया जुनुकला राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

            काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालिका संचालक राई समेतले नेपाली कला र सिपबाट विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गराउन लिएको ईजाजतको उल्लङ्घन गरी कम उमेर समूह समेतका युवायुवतीहरुलाई विभिन्न प्रलोभन दखाई सदस्यता लिन लगाएर नेटवर्किङ व्यवसाय सम्बन्धि ३ दिने प्रशिक्षण दिई ५० जनाबाट करिब ५५ लाख २२ हजार ८ सय रूपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

            उनी उपर ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-१२-१४

काठमाण्डौ,१४ चैत्रमिति २०८०।१२।१४ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।१२।०७ गतेको निर्णयले सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भयो ।        बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरूले यस कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरूलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।       प्रचलित कानूनलाई ध्यानमा राखेर मातहत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै परिणाममुखी, व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिनुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आगामी दिनमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न तयार रहन र      संगठनप्रति निष्ठावान भई निरन्तर लागिरहन समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८०-१२-०७

काठमाण्डौ, ०७ चैत     मिति २०८०-१२-०७ गते नेक्सस् इन्टरनेशनल एकेडेमी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कोटेश्वरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम नेक्सस् इन्टरनेशनल एकेडेमी का.न.पा.३२ टाउन प्लानिङ कोटेश्वरमा सम्पन्न भएको छ ।       कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।       प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी  चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानीय निकायहरुमा पुन:स्थापना केन्द्रहरूको आवश्यकता समेत औलाउनुभयो ।     कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले लागूऔषध दुर्व्यसन,रोकथामका उपायहरुको बारेमा  तथा नेपाल प्रहरी साइबर व्यूरो भोटाहिटीका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साइबर अपराध- सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै, कार्यक्रममा नेपाल प्रहरीद्वारा निर्मित लागूऔषध तथा साइबर अपराध सम्बन्धी विभिन्न जनचेतनामुलक भिडियो प्रसारण गरिनुका साथै  नेक्सस् इन्टरनेशनल एकेडेमीका  विद्यार्थीहरुद्वारा राष्ट्रभक्ति नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमका सभाअध्यक्ष नेक्सस् इन्टरनेशनल एकेडेमीका प्राचार्य तथा प्याब्सन केन्द्रिय कार्य समिति महासचिब आर.बी कटुवालले कार्यक्रमका विषयवस्तुको बारेमा जानकारी दिनुका साथै लागूऔषध सेवनले समाजमा गम्भिर घटनाहरु घटन सक्ने हुदा त्यसतर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै साइबर अपराधका घटनामा हरेक नागरिकलाई सजग रहन अनुरोध समेत गर्नु भयो ।   कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
२०८०-१२-०६

काठमाण्डौ, ६ चैत क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् । विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-१२-०५

काठमाण्डौ, ४ चैत            गोकर्णेश्‍वर नगरपालिका-३ बस्ने १८ वर्षीया सुष्मा लामाको हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ तारेभिर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ ।            सोही नगरपालिका-३ तारेभिरस्थित शिवपुरी राष्‍ट्रिय निकुन्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न  रूपेन्द्रलाई पक्राउ गरेको हो । सुष्मा एक्लै कलेज गईरहेको अवस्थामा बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेपश्चात रूपेशले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।              उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।