प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

११६३ जना फरार अपराधी पक्राउ

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

सम्मानित अदालतहरूको आदेशले विभिन्न मुद्दामा कैद र जरिवाना फैसला भई फरार रहेका अपराधीलाई कानून बमोजिम पक्राउ गर्ने कार्यलाई उपत्यका प्रहरी कार्यालयले तिव्रता दिएको छ ।

 चालु आर्थिक बर्ष ०७९।०८० को श्रावण देखि फागुन ३ गते सम्म ११६३ जना फरार अपराधी पक्राउ गरिएको छ । उनिहरूबाट १३७ बर्ष १ महिना ९ दिन कैद र जरिवाना वापत १७ करोड ३८ लाख ८ हजार ५० रुपैया ९ पैसा असुल उपर गर्नु पर्ने फैसला भएको थियो ।

पिडितलाई न्यायको प्रत्याभुती र अपराधीलाई कानून बमोजिम सजाय दिलाउन उपत्यका प्रहरी कार्यालय रानीपोखरीले २०७९ मंसिर २८ गते प्रहरी उपरीक्षकको नेतृत्वमा सात सदस्यिय टोली गठन गरी  फैसला कार्यान्वयनलाई तिव्रता दिएको छ । चालू आ.व २०७९।८० को श्रावण देखी मंसिर सम्म १६६ जना र टोली गठन भएपश्चात थप ९९७ जनालाई पक्राउ गरिएको हो ।

गत आ.व.२०७८।०७९ मा जम्मा २९१ फरार व्यक्तिहरू पक्राउ परेका थिए र उनीहरूबाट ४८ बर्ष १५ दिन कैद भुक्तानका साथै बिगो बापत कुल १० करोड ५३ लाख ५२ हजार ४० रुपैया ३४ पैसा असुल उपर गर्नको लागी सम्बन्धित निकायमा बुझाइएको थियो ।

दोषी ठहर भएका अपराधी समाजमा खुलेआम हिँडडुल गर्दा समाजमा दण्डहिनता मौलाउने, अपराधिहरुको मनोबल वृद्धि हुने र पीडितलाई मानसिक र शारीरिक रुपमा गम्भिर असर समेत पर्ने भएकाले फरार अपराधीहरुको पक्राउका लागि यो अभियान चलाइएको हो र फैसला कार्यान्वयन गर्ने कार्य निरन्तर रहने छ ।  




सम्बन्धित समाचार
सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको बिदाइ
२०७९-१२-१०

काठमाडौं, १० चैत     सेवा अवधि पुरा गरी सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ को  शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।             बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले  संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति धन्यबाद व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीहरू आम नागरिकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको श्रीवृद्धिका लागि केन्द्रीत भई ईमान्दारीपूर्वक निर्वाह गरेको समेत बताउनु भयो ।             धन्यवाद मन्तव्य व्यक्त गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिल्ली राज पन्तले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि उहाँहरूको योगदानको स्मरण गर्दै अवकाश पश्चात पनि सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख  प्रहरी नायव महानिरीक्षक मिरा चौधरी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँलाई कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अधिकृतहरू २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा ३० बर्ष प्रहरी सेवामा आबद्ध भई अनिवार्य अवकाश हुनु भएको हो । 

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, ४ फागुन             काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो ।             उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, ४ फागुन             चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।             काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।             उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।