प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चेकिङको क्रममा अभद्र व्यवहार गर्ने सवारी चालकहरू उपर कारवाही

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, १ माघ

          काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहत समेत बाट २०७९ षौष १७ गते देखी ऐ. माघ १७ गते सम्म (एक महिनाको अवधिमा) माद पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३६५ जना चालकलाई जरिवाना तथा १२४०३ जनालाई सचेतना कक्षामा सहभागी गराईएको छ ।

          साथै मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने र चेकिङको क्रममा चेकिङमा खटिएका प्रहरी कर्मचारी सँग अभद्र व्यवहार गर्ने १ जना विदेशी नागरीक सहित १४ जनालाई अभद्र व्यवहारमा मुद्दा समेत चलाईएको छ ।

          सोही क्रममा मिति २०७९/१०/१० गते का.जि.का.म.पा.वडा नं.०६ बौद्ध पिपलबोट स्थित सडक खण्डमा जोरपाटीबाट चुच्चेपाटी तर्फ जादै गरेको बा.२ ख १५७३ नं.को बसले जथाभावी यात्रु चढाउने र ओराल्ने गर्दै गरेको अवस्थामा ट्राफिक प्रहरीले  कारवाही गर्न खोज्दा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई हातपात गरी ज्याकेट र पुर्जी समेत च्यातिदिई डिउटीमा अवरोध गरेको हुँदा सो सवारीका चालक ईश्वरमान श्रेष्ठ उपर मिति २०७९।१०।१० गतेबाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा मुद्दामा म्यादथप गरी अनुसन्धान पश्चात मिति २०७९।१०।१५ गते रु. ७,०००।- धरौटीमा तारीखमा छाडिएको छ ।

          केहि दिन देखि सामाजिक संजालमा सम्प्रेषित भिडियोमा एकजना महिलाले जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौं अगाडी प्रहरीलाई आफ्नो श्रीमानलाई कारवाही नगर्न अनुरोध गरेको र निजलाई प्रहरीले प्रहरी भ्यानमा राखेको सम्बन्धमा उक्त महिला सो सवारीका चालक ईश्वरमान श्रेष्ठको श्रीमती नम्रता श्रेष्ठ रहेको र वहाँलाई प्रहरीले सोहि दिन समझाई बुझाई छाडिसकेको व्यहोरा समेत जानकारी गराईन्छ ।

 

सम्बन्धित समाचार
सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको बिदाइ
२०७९-१२-१०

काठमाडौं, १० चैत     सेवा अवधि पुरा गरी सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ को  शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।             बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले  संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति धन्यबाद व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीहरू आम नागरिकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको श्रीवृद्धिका लागि केन्द्रीत भई ईमान्दारीपूर्वक निर्वाह गरेको समेत बताउनु भयो ।             धन्यवाद मन्तव्य व्यक्त गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिल्ली राज पन्तले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि उहाँहरूको योगदानको स्मरण गर्दै अवकाश पश्चात पनि सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख  प्रहरी नायव महानिरीक्षक मिरा चौधरी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँलाई कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अधिकृतहरू २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा ३० बर्ष प्रहरी सेवामा आबद्ध भई अनिवार्य अवकाश हुनु भएको हो । 

११६३ जना फरार अपराधी पक्राउ
२०७९-११-०४

सम्मानित अदालतहरूको आदेशले विभिन्न मुद्दामा कैद र जरिवाना फैसला भई फरार रहेका अपराधीलाई कानून बमोजिम पक्राउ गर्ने कार्यलाई उपत्यका प्रहरी कार्यालयले तिव्रता दिएको छ । चालु आर्थिक बर्ष ०७९।०८० को श्रावण देखि फागुन ३ गते सम्म ११६३ जना फरार अपराधी पक्राउ गरिएको छ । उनिहरूबाट १३७ बर्ष १ महिना ९ दिन कैद र जरिवाना वापत १७ करोड ३८ लाख ८ हजार ५० रुपैया ९ पैसा असुल उपर गर्नु पर्ने फैसला भएको थियो ।पिडितलाई न्यायको प्रत्याभुती र अपराधीलाई कानून बमोजिम सजाय दिलाउन उपत्यका प्रहरी कार्यालय रानीपोखरीले २०७९ मंसिर २८ गते प्रहरी उपरीक्षकको नेतृत्वमा सात सदस्यिय टोली गठन गरी  फैसला कार्यान्वयनलाई तिव्रता दिएको छ । चालू आ.व २०७९।८० को श्रावण देखी मंसिर सम्म १६६ जना र टोली गठन भएपश्चात थप ९९७ जनालाई पक्राउ गरिएको हो ।गत आ.व.२०७८।०७९ मा जम्मा २९१ फरार व्यक्तिहरू पक्राउ परेका थिए र उनीहरूबाट ४८ बर्ष १५ दिन कैद भुक्तानका साथै बिगो बापत कुल १० करोड ५३ लाख ५२ हजार ४० रुपैया ३४ पैसा असुल उपर गर्नको लागी सम्बन्धित निकायमा बुझाइएको थियो ।दोषी ठहर भएका अपराधी समाजमा खुलेआम हिँडडुल गर्दा समाजमा दण्डहिनता मौलाउने, अपराधिहरुको मनोबल वृद्धि हुने र पीडितलाई मानसिक र शारीरिक रुपमा गम्भिर असर समेत पर्ने भएकाले फरार अपराधीहरुको पक्राउका लागि यो अभियान चलाइएको हो र फैसला कार्यान्वयन गर्ने कार्य निरन्तर रहने छ ।  

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, ४ फागुन             काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो ।             उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, ४ फागुन             चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।             काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।             उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।