प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, २४ पुस, गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।

            यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल  चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।

            विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।

            यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ ।

            काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ ।

            नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी  जम्मा ३२३१ वटा क्यामेराहरु संचालित छन् ।

            समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ ।

            कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।

            गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २१७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १२६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ । सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १८५७ जनालाई  सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।

            काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिसिटिभि क्यामेराको प्रभावकारिताको लागि VMS (Video Management Software) सहितको क्यामराहरुको संचालनलाई थप विस्तार गर्दै अझ बढी प्रभावकारी बनाउने उद्देश्य लिएको छ भने राजधानी प्रवेश गर्ने तथा बाहिरीने मुख्य नाकाहरुमा Lane Alignment सहितको सर्भिलेन्स सिष्टमको संचालन र सहरको मूख्य चोकहरुमा सिसिटिभिको मेरुदण्डको रुपमा रहेको अप्टिकल फाईबर प्रयोग गरी Public Address System समेत संचालनमा ल्याउने योजना रहेको छ ।  

सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०८०-०८-१५

काठमाण्डौं, १५ मंसिर        मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ वटा मोटरसाइकल बरामद भएको छ ।        ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई काठमाण्डौ बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी खरिबोट  बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।        चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका-१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२-०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२-०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२-०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका-२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०८०-०८-१५

ललितपुर, १५ मंसिर        ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाण्डौ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई  भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।        यसैगरी ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुनका जस्तो देखिने विभिन्न गरगहना लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर              वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।                      डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौको गोंगबुबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाण्डौ एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपैयाँ ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बसुन्धराबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।