प्रहरी कन्ट्रोल : १००
नेपा
EN

विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, २४ पुस, गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।

            यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल  चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।

            विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।

            यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ ।

            काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ ।

            नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी  जम्मा ३२३१ वटा क्यामेराहरु संचालित छन् ।

            समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ ।

            कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।

            गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २१७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १२६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ । सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १८५७ जनालाई  सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।

            काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिसिटिभि क्यामेराको प्रभावकारिताको लागि VMS (Video Management Software) सहितको क्यामराहरुको संचालनलाई थप विस्तार गर्दै अझ बढी प्रभावकारी बनाउने उद्देश्य लिएको छ भने राजधानी प्रवेश गर्ने तथा बाहिरीने मुख्य नाकाहरुमा Lane Alignment सहितको सर्भिलेन्स सिष्टमको संचालन र सहरको मूख्य चोकहरुमा सिसिटिभिको मेरुदण्डको रुपमा रहेको अप्टिकल फाईबर प्रयोग गरी Public Address System समेत संचालनमा ल्याउने योजना रहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।  

चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ
२०८३-०६-१६

काठमाडौं, १६ असोज ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।नजिकिँदै गरेका बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित, सहज तथा व्यवस्थित यात्रा सुनिश्चित गर्ने उद्देश्यले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहज टिकट व्यवस्था, तोकिएको भाडा कार्यान्वयन, सुरक्षित यातायात तथा ठगी र अनियमितता नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले बढी भाडा असुली, टिकटमा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुसँग दुर्व्यवहार गर्ने कार्य नगर्न यातायात व्यवसायीलाई आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।साथै, यात्रु सहायता कक्षमा प्राप्त गुनासा तथा समस्याको तत्काल सुनुवाइ र आवश्यक सहजीकरण गर्न प्रहरी तथा सम्बन्धित निकायलाई निर्देशन दिँदै यात्रुहरूलाई आधिकारिक काउण्टरबाट टिकट लिन, आफ्ना सामानको सुरक्षा गर्न तथा कुनै अनियमितता वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।चाडपर्वको अवधिमा बसपार्क तथा यात्रुको चाप बढी हुने स्थानमा आवश्यक सुरक्षा, निगरानी तथा प्रहरी परिचालन सुदृढ गरिने प्रमुख अतिथि राठौरज्यूले बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाज्यू,। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका कार्यालय प्रमुखज्यू, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपरका कार्यालय प्रमुख ज्यू, प्रहरी वृत्त बालाजु र महाराजगंजका कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरू,सार्वजनिक यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन
२०८३-०६-०७

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घघाटनकाठमाडौं, ७ असोज । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।स्थानीय समुदाय, जनप्रतिनिधि, संघ–संस्था, उद्योगी–व्यवसायी तथा सहयोगी दाताहरूको सहकार्यमा निर्माण भएको उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले प्रहरीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास, सद्भाव र सहयोग रहेको उल्लेख गर्दै समुदायको पहलमा निर्माण भएको भवन प्रहरी–समुदाय साझेदारीको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो ।उहाँले पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र स्थानीयवासीको सुरक्षा, अपराध नियन्त्रण, भीड व्यवस्थापन तथा आकस्मिक प्रहरी सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।साथै, प्रहरी कर्मचारीको व्यवहार नम्र, सभ्य, सहयोगी, निष्पक्ष तथा नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै स्थानीय समुदायसँग निरन्तर समन्वय र सहकार्य गरी अपराध रोकथाम तथा प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्री टेकराज अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.ब.उ. दिलीप घिमिरे, प्र.ब.उ. रमेश थापा, प्रहरी वृत्त गौशालाका कार्यालय प्रमुख प्रकाश श्रीमल, जनप्रतिनिधि, भवन निर्माण समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।