प्रहरी कन्ट्रोल : १००
नेपा
EN

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

            गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।

            राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो ।

            कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो ।

            उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

            कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  ।

            आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

            कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

            कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

            कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

            विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।  

चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ
२०८३-०६-१६

काठमाडौं, १६ असोज ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।नजिकिँदै गरेका बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित, सहज तथा व्यवस्थित यात्रा सुनिश्चित गर्ने उद्देश्यले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहज टिकट व्यवस्था, तोकिएको भाडा कार्यान्वयन, सुरक्षित यातायात तथा ठगी र अनियमितता नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले बढी भाडा असुली, टिकटमा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुसँग दुर्व्यवहार गर्ने कार्य नगर्न यातायात व्यवसायीलाई आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।साथै, यात्रु सहायता कक्षमा प्राप्त गुनासा तथा समस्याको तत्काल सुनुवाइ र आवश्यक सहजीकरण गर्न प्रहरी तथा सम्बन्धित निकायलाई निर्देशन दिँदै यात्रुहरूलाई आधिकारिक काउण्टरबाट टिकट लिन, आफ्ना सामानको सुरक्षा गर्न तथा कुनै अनियमितता वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।चाडपर्वको अवधिमा बसपार्क तथा यात्रुको चाप बढी हुने स्थानमा आवश्यक सुरक्षा, निगरानी तथा प्रहरी परिचालन सुदृढ गरिने प्रमुख अतिथि राठौरज्यूले बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाज्यू,। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका कार्यालय प्रमुखज्यू, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपरका कार्यालय प्रमुख ज्यू, प्रहरी वृत्त बालाजु र महाराजगंजका कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरू,सार्वजनिक यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन
२०८३-०६-०७

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घघाटनकाठमाडौं, ७ असोज । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।स्थानीय समुदाय, जनप्रतिनिधि, संघ–संस्था, उद्योगी–व्यवसायी तथा सहयोगी दाताहरूको सहकार्यमा निर्माण भएको उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले प्रहरीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास, सद्भाव र सहयोग रहेको उल्लेख गर्दै समुदायको पहलमा निर्माण भएको भवन प्रहरी–समुदाय साझेदारीको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो ।उहाँले पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र स्थानीयवासीको सुरक्षा, अपराध नियन्त्रण, भीड व्यवस्थापन तथा आकस्मिक प्रहरी सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।साथै, प्रहरी कर्मचारीको व्यवहार नम्र, सभ्य, सहयोगी, निष्पक्ष तथा नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै स्थानीय समुदायसँग निरन्तर समन्वय र सहकार्य गरी अपराध रोकथाम तथा प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्री टेकराज अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.ब.उ. दिलीप घिमिरे, प्र.ब.उ. रमेश थापा, प्रहरी वृत्त गौशालाका कार्यालय प्रमुख प्रकाश श्रीमल, जनप्रतिनिधि, भवन निर्माण समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।