प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चापम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

            गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।

            राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो ।

            कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो ।

            उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

            कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  ।

            आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

            कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

            कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

            कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरुविभिन्न संघसंस्थाका प्रतिनिधिहरुनागरिक समाजसंचारकर्मीहरुविद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

            विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०८-२०

काठमाण्डौ, २० मंसिरमिति २०८०-०८-२० गते नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बुधबार नेपाल पुलिस स्कुल सामाखुसी काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शिक्षण पेसा सबैभन्दा आदरणीय र जिम्मेवार पेसा भएकाले शिक्षक पेसामा शिक्षकसँग ज्ञान, सीप र दक्षता संगै दूरदृष्टि क्षमता, पहिचान शक्ति, राष्ट्रप्रतिको चिन्ता, जीवनप्रतिको संवेदनशीलता, पेसाप्रतिको इमान्दारिता भएमा भविष्यको लागी मानव जीवनका सर्वांगीण क्षेत्रमा सकारात्मक र जिम्मेवार  नागरिक विकास गर्न मद्दत पुग्ने बताउनुभयो । साथै स्कुलको गुणस्तरीय नतिजा तथा विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्कुलमा सम्वद्व सम्पुर्ण पदाधिकारीहरु तथा शिक्षकहरू एक्यवद्व हुन अनुरोध गर्दै शिक्षकहरुलाई  आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुनुपर्नेमा समेत जोड दिनुभयो। निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल पुलिस स्कुल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै स्कुलका सम्वधमा जानकारी लिनुभएको थियो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य ,जिल्ला प्रहरी परिसर काठमाण्डौका  प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८०-०८-१९

काठमाण्डौ, १९ मंसिर मिति २०८०-०८-१९ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत  उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालले लैंगिक हिंसाको वर्तमान अवस्था र चुनौतिहरु सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यकाको तीनवटै जिल्लाको प्रतिनिधित्व गर्दै लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति काठमाण्डौका कोषाध्क्ष रशना ढकालले सञ्जालको गठन, उद्देश्य, प्रभावकारिता र वर्तमान अवस्थाको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आफ्नो जिज्ञासा तथा राय सुझाव राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासा तथा राय सुझावलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सामाजिक तथा मानवीय कार्य लैंगिक हिंसा विरुद्वको अभियानमा लाग्ने सम्पूर्ण महानुभाव, सञ्जालमा संलग्न संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै नागरिक तथा सामाजिक संघ, संस्थाका प्रतिनिधिहरू पनि विना वर्दीका प्रहरी भएकाले सञ्जालको सक्रियतामा नेपाल प्रहरीले समन्वयात्मक तवरले सहकार्य गर्ने  तथा अगामी दिनका चुनौतीहरूलाई मध्यनजर गर्दै ३६५ दिन नै अभियानको रुपमा मनाउने बताउनुभयो । उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, लैंगिक हिंसा नियन्त्रण सञ्जालमा आवद्व विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।   

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०८०-०८-१५

काठमाण्डौं, १५ मंसिर        मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ वटा मोटरसाइकल बरामद भएको छ ।        ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई काठमाण्डौ बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी खरिबोट  बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।        चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका-१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२-०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२-०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२-०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका-२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०८०-०८-१५

ललितपुर, १५ मंसिर        ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाण्डौ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई  भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।        यसैगरी ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुनका जस्तो देखिने विभिन्न गरगहना लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।