प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जना पक्राउ

२०७७-११-२८

  • A
  • A-
  • A+
Share

अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आज शुक्रबार यस कार्यालयमा, पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको थियो । युरेनियम २३८ को गैर कानुनी कारोवार भईरहेको छ भन्‍ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले मिति २०७७/११/२७ गते रामेछाप जिल्ला लिखु तामाकोशी- ५ बस्ने वर्ष ४० को नारायण सिंह तामाङ, जिल्ला रामेछाप, लिखु तामाकोशी ५ स्थायी ठेगाना भई जिल्ला काठमाण्डौं, बौद्ध-६ बस्ने वर्ष ४० की जानुका तामाङ, जिल्ला रामेछाप, मन्थली नगरपालिका- ४ बस्ने वर्ष २० को प्रकाश चौहान, जिल्ला सिन्धुली, सुनकोशी-४ बस्ने वर्ष २० को मनोज न्यौपानेलाई पक्राउ गरिएको हो । अन्दाजी साढे दुई किलो युरेनियम सहित निजहरूलाई काठमाण्डौं, टुसाल - ६ बौद्धबाट पक्राउ गरी थियो । नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको छ । उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भई रहेको छ ।


साथै पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले यस कार्यालयबाट भएका त्रैमासिक प्रहरी कारवाहीका मुख्य मुख्य उपलब्धीहरू, शान्ति सुरक्षा व्यवस्थापनमा परिचालित जनशक्ति, कारवाही तथा पुरस्कार सम्बन्धि विवरण, मुद्दा दर्ता संख्या, पक्राउ परेका व्यक्तिहरू लगायतका विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८१-०७-०८

काठमाण्डौ, ८ कार्तिक         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरू प्रहरी संगठनका अत्यन्त जिम्मेवार प्रहरी कर्मचारी भएकाले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नहुने बताउनु भयो ।       अपराध अनुसन्धान नेपाल प्रहरी संगठनले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको बताउदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीहरुले सूचना संकलनलाई बिशेष प्राथमिकतामा राखि आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादार र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।             उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

धाक धम्की दिई पैसा माग गर्ने व्यक्ति पक्राउ
२०८१-०७-०७

काठमाण्डौ, ७ कात्तिकएसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चिनीयाँ नागरिकले सञ्चालन गरेको Xishuan Yang textile pvt Ltd कम्पनीको म्यानेजरको मोवाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित सोही कम्पनीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोवाइल नम्बरबाट पाटीलाई १ लाख ५० हजार देखि २ लाख रूपैयाँ सम्म सहयोग गर्नु पर्‍यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकाली पठाइएको छ । 

गृहमन्त्री रमेश लेखकबाट ई-चलान (डिजिटल चिट) को शुभारम्भ
२०८१-०७-०४

काठमाण्डौ, ४ कात्तिक गृहमन्त्री रमेश लेखकले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच Traffic Violation Record System (TVRS), ई-चलान (डिजिटल चिट) को शुभारम्भ गर्नुभएको छ । साथै उहाँले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उहाँले शुभकामना समेत दिनुभयो । सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उहाँले बताउनुभयो ।गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी भएको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवम् इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । सवारी दुर्घटना ठूलो चुनौतिको रूपमा देखा परेको बताउँदै उहाँले त्यसको न्यूनिकरण गर्न सरोकारवाला सबै निकायहरूले आ-आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा अझ बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई-चलानको शुभारम्भ स्वागत योग्य रहेको चर्चा सहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको बताउनुभयो । त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिवद्ध रहने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी अन्तर्गत रहेको विशिष्टिकृत कार्य रहेको उल्लेख गर्दै यसको समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताउनुभयो । आज शुभारम्भ भएको ई-चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै यो सेवा कम झन्झटिलो र गुनासो रहित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।   काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले TVRS को विकासक्रम, TVRS र नागरिक एप Integration, ई-चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त अवसरमा ई-चलान सम्बन्धी संक्षिप्त श्रब्यदृश्य प्रदर्शनका साथै ई-चलान सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवम् संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । 

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८१-०७-०२

भक्तपुर, २ कात्तिकमध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।