प्रहरी कन्ट्रोल : १००
नेपा
EN

वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३-०४-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं,वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका-११ घर भएका ४४ वर्षीय नवराज भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नवराजले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-१९

ललितपुर, कर्तव्य ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ३० वर्षीय प्रदिप थापा मगर, ३० वर्षीय प्रबिन थापा मगर र ३० वर्षीय गोपिनी थापा मगर रहेका छन् । गोदावरी नगरपालिका-८ डुकुछापकी एक युवतीको २०७७ चैत २ गते हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८३-०४-१७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र भारत कैरू हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरवेजको उडानद्वारा थाइल्याण्डबाट नेपाल आएका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।              यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगर बुद्धमार्गस्थित बाग्लुङ चिनारी गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित काठमाडौं बालाजु बस्ने पाँचथर घर भएका ३२ वर्षीय मिलन लिम्बु समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम सहित सिराहा घर भएका २४ वर्षीय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५५२४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उक्त लागूऔषध रिसिभ गर्न आउने सिराहा घर भएका २८ वर्षीय जिवन लामालाई नागार्जुन नगरपालिका-१४ बाट पक्राउ गरेको छ ।              यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन ९ एम्पुल र बुप्रेनोफिन ९ एम्पुल सहित ललितपुर गोदावारी बस्ने दोलखा घर भएका ३८ वर्षीय राज कुमार ओलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-८ घर भएका ४८ वर्षीय पूर्ण बहादुर मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।            जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-९ एयरपोर्ट गोल्डेन गेटबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।             पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।     उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।