प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सीसीटीभी जडान सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र तारकेश्‍वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबिच तारकेश्‍वर नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्ने  सम्बन्धमा सम्झौता-पत्रमा हस्ताक्षर भई सम्झौता-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा तारकेश्‍वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सीसीटिभीको महत्वपूर्ण भूमिका रहने भएकाले  सीसीटिभी जडान गर्न लागिएको बताउनु भयो ।

सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्थानीय सरकार हामीहरूको अभिभावक भएकाले नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिई सुरक्षा क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्नुभयो । यसै गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रमाणमुखी बनाउन सीसीटीभी को महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनु भयो ।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-८ घर भएका ४८ वर्षीय पूर्ण बहादुर मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।            जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-९ एयरपोर्ट गोल्डेन गेटबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।             पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।     उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८३-०३-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने पाँचथर फिदिम नगरपालिका-१४ घर भएका ३० वर्षीय रबिन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गौँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका-५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको भन्ने खुल्न आएपछि रबिनाको कोठामा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८९ हजार ५ रूपैयाँ फेला पारी रबिनालाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रूपैयाँ सहित सोही नगरपालिका-५ पाँगा बसपार्क बस्ने ३७ वर्षीय संजिप कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०४३ प ९५४१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२६

२०८३-०३-२६काठमाडौं, लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने सिन्धुपाल्चोलक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३० वर्षीय भिमसेन वैजु र २३ वर्षीय विश्‍व वैजु रहेका छन् ।            जिल्ला अदालत काठमाडौंबाट २०८१ पुस ११ गते उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तथा थप ३ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका भिमसेनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईलाबाट पक्राउ गरेको हो । साथै जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना फैसला ठहर भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका विश्‍वलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो ।             पक्राउ मध्ये विश्‍वलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ भने भिमसेनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।