वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-१७
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने
सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर
मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ,
काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी
लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ४१ वर्षीय
रामदास महर्जन र काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् । पक्राउ मध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार
रूपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना
पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सन्तोषीले स्पेन पठाइदिन्छु
भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ, रामदासले युएई
पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रूपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु
भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको
उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको
प्रहरीले वाङ्दीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, ललित
बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट र सन्तोषीलाई काठमाडौं महानगरपालिका-१५
बाट शनिबार, रामदासलाई काठमाडौं महानगरपालिका-१४ बाट
शुक्रबार र सरिबलाई काठमाडौं काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको
हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल काठमाडौं पठाइएको छ ।