प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन सम्पन्न

२०८३-०३-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोह बिच प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ सम्पन्न भएको छ । 

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू एवम् निचोडहरू प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण हुने बताउनुभयो । नेपाल सरकारको प्राथमिकताका विषयहरूलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप संविधान तथा प्रचलित कानुनले निर्दिष्ट गरेको जिम्मेवारी प्रति निष्पक्ष रही उच्च व्यावसायिकताका साथ कार्यसम्पादन गर्न प्रहरी कर्मचारी सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 

     प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूले राखेको जिज्ञासाहरूको निरूपण गर्दै अपराधको स्वरूप एवम् प्रवृत्तिको परिवर्तनले थप चुनौतीहरू देखा परेको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध, सामाजिक संजालको दुरूपयोग गरी गलत सूचना/मिथ्या सूचना प्रवाह गर्ने लगायतका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुने अपराध प्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ सम्बोधन गर्नुपर्ने बताउँदै अपराध नियन्त्रण एवम् अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी समुदायसँग समन्वय गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड  दिनुभयो । साथै यस सम्मेलन मार्फत विगतको अनुभव, सूचना संकलन, असल अभ्यासहरू, स्रोतसाधन तथा प्रविधिको प्रयोग, अन्तर सुरक्षा निकाय बिचको आपसी समन्वय लगायतमा अनुभवको आदान-प्रदान र सम्मेलनबाट प्राप्त भएका सुझाव एवम् निष्कर्षहरू आगामी दिनमा कार्यक्षेत्रमा अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

        कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, संचार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्यसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

      समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

         नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण एवम् प्रभावकारी अनुसन्धानलाई आफ्नो मूल दायित्वको रूपमा आत्मसात् गर्दै आइरहेको छ । बद्लिदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउनु आजको आवश्यकता रहेको परिपेक्षमा यीनै विषयहरूको समीक्षा, अनुभवको आदान-प्रदान तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले यस सम्मेलनको आयोजना गरिएको हो । प्रहरी कार्यको वार्षिक समीक्षा गरी चुनौती तथा कमीकमजोरीको बारेमा अनुभव आदान-प्रदान गर्दै सुधारका क्षेत्रहरू पहिचान गर्ने, प्रहरी कार्यको क्षमता अभिवृद्धिको बाटो पहिल्याउने एवम् प्रहरी कार्यको प्रभावकारीतामा वृद्दि गरी, शान्ति सुरक्षा अमनचयन कायम गराउन नीतिगत, संरचनागत लगायत समग्र सुधारका क्षेत्रहरू पहिचान गरी आगामी कार्यदिशा तय गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८३-०६-२९

२०८३-०६-२९            काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।