प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : शंकास्पद कुराहरु
स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ
२०८१-०२-२४

भक्तपुर, २४ जेठसूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाण्डौ बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्‍व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ
२०८१-०२-१३

काठमाण्डौ, १३ जेठभन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ
२०८०-११-१३

काठमाण्डौ, १३ फागुन             त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा शनिबार दिउँसो पक्राउ परेकी छिन् ।  नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचर पठाइएको छ ।