प्रहरी कन्ट्रोल : १००
नेपा
EN

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय: प्रहरी महानिरीक्षक दान बहादुर कार्की

२०८२-११-२५

  • A
  • A-
  • A+
Share

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारहरूको अभाव एवम् प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका चिन्तन एवम् आकांक्षाका वावजूद निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना एवम् जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको उच्च व्यावसायिकता प्रशंसनीय रहेको बताउनुभयो । प्रतिकुल परिस्थितिका वावजूद मुलुकप्रतिको समर्पण भावका साथ आफूलाई तोकिएको जिम्मेवारीमा केन्द्रीत रहेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको व्यावसायिक भूमिका प्रति उहाँले आभार व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको अथक सक्रियता र क्रियाशीलताको कारणले समाजमा शान्ति सुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी इलाकाको विस्तृत जानकारीहरू राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरूले परिवर्तनलाई आत्मसात् गर्न जरूरी रहेको बताउँदै समयानुकूल अझ शिष्ट बोली, वचन र आचरणका साथै जनउत्तरदायी भई नागरिकहरूप्रति पूर्णरूपमा समर्पित भएर कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेशा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमानदारीता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवम् दृढ अनुशासन आवश्यक रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनीक लक्ष्य प्रति सदैव केन्द्रीत भई सामूहिक भावना एवम् भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । निश्चिन्त भएर कानूनी रूपले प्रदत्त अधिकारहरू प्रयोग गर्दै आगामी दिनमा सम्पूर्ण प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार भई अझ उच्च अनुशासन एवम् व्यावसायिकता प्रदर्शन गर्दै कर्तव्य निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । संगठनको सुदृढीकरण र शुद्धिकरणको लागि आफू सदैव प्रयत्नशील रहने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयहरूका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । रिजेनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँबाट पक्राउ गरेको हो ।    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१२

चैत १२ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा जनपद प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक वसन्त कुमार दाहाललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।     कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी,प्रहरी वरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-११

         काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा बुधबार जिल्ला प्रहरी परिसर ललितपुरको  निरीक्षण तथा  निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      जिल्ला प्रहरी परिसर  ललितपुरका विभिन्न शाखाहरु, परिचालन कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर ललितपुर मातहतका प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ललितपुर जिल्लामा बिभिन्न समयमा भएका मेला,पर्व,जुलुस,आन्दोलन र भर्खरै सम्पन्न भएको निर्वाचनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा धन्यबाद दिनुहुँदै प्रहरी कर्मचारीहरुले बिभिन्न समयमा आउने चुनौतीलाई प्रहरी कौशलताका साथ प्रस्तुत गर्ने अवसरको रुपमा सदुपयोग गरी प्रहरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । साथै, नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैह्र कानूनी कृयाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना सङ्कलनलाई प्रभावकारी बनाउन, प्राप्‍त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत सुरक्षित बनाउन समेत निर्देशन दिनुभयो ।  कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी, लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१०

         काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको  निरीक्षण तथा  निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      जिल्ला प्रहरी परिसर काठमाडौंको विभिन्न शाखाहरु, परिचालन कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं जिल्लामा VVIP तथा VIP हरुको बसोबास रहेको साथै Vital Installations समेत रहेकाले यस जिल्ला घट्ने हरेक घटनाहरुमा हरेक निकाय तथा क्षेत्रको विशेष चासोको रुपमा हुने हुदाँ यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले यस चुनौतीलाई प्रहरी कौशलता प्रस्तुत गर्ने अवसरको रुपमा सदुपयोग गरी आफ्नो नेतृत्व क्षमता प्रस्तुत गरी उत्कृष्ठ ढंगले प्रहरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।   साथै, नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर-कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना सङ्कलनलाई प्रभावकारी बनाउन, प्राप्‍त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन समेत निर्देशन दिनुभयो ।  कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूबाट नेपाल पुलिस स्कुलमा निर्माण भएको सरस्वती मन्दिरको समुद्‍घाटन भएको छ ।
२०८२-१२-०९

विद्या, बुद्धि, कला र संगीतकी देवी सरस्वतीको साधनाद्वारा विद्यार्थीहरूको ज्ञान आर्जनको कामना सहित नेपाल पुलिस स्कुल सामाखुसीको परिसरमा निर्माण सम्पन्न पश्चात  सरस्वती मन्दिरको आज एक कार्यक्रमका बिच काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूबाट उद्‌घाटन भएको छ ।   सरस्वती मन्दिरको निर्माणमा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका निमित्त प्राचार्य, समादेशक, शिक्षक, शिक्षिका,विद्यार्थीहरू प्रहरी कर्मचारीहरूको सहभागि रहेको थियो ।