प्र.म.नि. ज्यूको प्रमुख आतिथ्यमा ट्राफिक सप्ताहको शुभारम्भ पौष २६ गते शनिवार
२०८२-०९-२६
- A
- A-
- A+
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख
आतिथ्यमा आज देखि ट्राफिक सप्ताह सुरु भएको छ । दुर्घटना न्यूनीकरण
विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२
को र्याली काठमाडौको
बसन्तपुरमा सुरु भई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पुगेर
औपचारीक सभाको रुपमा परिणत भएको हो । काठ्माडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उक्त अबसरमा स्वागत मन्तव्य
प्रस्तुत गर्नु भयो । कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार हरिबंस आचार्यले ट्राफिक
व्यवस्थापनलाई वेवास्था गरेमा भोलीका दिनमा असहज अबस्था शिर्जना हुन सक्ने बताउनु
भयो। काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले यस अघि आफुले ट्राफिक
स्वयंम सेवकको भुमिका निर्वाह गरेको स्मरण गर्दै ट्राफिक व्यवस्थापन एउटा पक्षको मात्र
जिम्मेवारी नभई सबै पक्षको उत्तिकै भुमिका हुने बताउनु भयो । कार्यक्रममा नेपाल
यातायात व्यवसायी महासंघका अध्यक्ष,मजदुर संगठनका अध्यक्ष लगायतले ट्राफिक सप्ताह
सफलतामा संस्थागत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमलाई
सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्रफिक
नियमको पालना मानिसको आफ्नो स्वयम सुरक्षाको लागी भएको र यसको पालनाले मानिसको
सभ्यता मापन हुने बताउनु भयो । भदौ २४ गते तोडफोड भै पुर्ण रुपमा क्षति ग्रस्त
भएको मेट्रो ट्राफिक एफ.एमको समेत प्रमुख अतिथी प्रहरी महानिरिक्षक कार्कीले सोही
अबसरमा उद्घाटन गर्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी
अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले उपस्थित सबै जनामा धन्यबाद ज्ञापन गर्नु भयो
। कार्यक्रममा प्रहरी बरिष्ठ अधिकृतहरु ,काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन
सँग सरोकार राख्ने सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार,
बिधार्थी,समुदायका सकृय महानुभावहरुको उपस्थिती रहेको थियो । ट्राफिक सप्ताहको अवसरमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो
काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम,रात्रिकालिन सवारीका चालक र परिचालकलाई सचेतना कार्यक्रम लगायतका विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरु संचालन
हुने छन ।