प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

२०८२-०७-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, १३ असोज

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाबीच नागार्जुन नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बिहिबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की र नागार्जुन नगरपालिकाको तर्फबाट नगरपालिकाका कार्यवाहक प्रमुख शुसिला अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

      सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिकहरूको आधारभुत आवश्यकता शान्ति सुरक्षा भएकोले सिसिटिभि जडानले नागरिकहरूलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुहुँदै विभिन्न अपराधिक घटनाहरूको सफल अनुसन्धान गर्न प्रविधिको प्रयोग गरी प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

     सो कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख शुसिला अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गरी अनुसन्धान गर्न सहज हुने हुँदा अन्य ठाँउहरूमा पनि आवश्यकता अनुसार सिसिटिभी जडान गरी आगामी दिनहरूमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

           नागार्जुन नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । यसका लागि चालू आ.ब. २०८२/०८३ मा २ करोड १२ लाख भुक्तानी हुने गरी नागार्जुन नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार
लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ तथा बाह्र लाख एकासी हजार नगद सहित मानिस नियन्त्रणमा
२०८२-१०-०६

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटी स्थित टंकेश्वरमा केही व्यक्तिहरुले लागु औषध बिक्री वितरण तथा ओसार पसार गर्ने कार्य गरी रहेका छन् भन्ने खबर पश्चात तत्काल बृत कालिमाटीबाट सादा पोशाकको टोली उक्त स्थानमा खटि गई जिल्ला मकवानपुर ईन्द्रसरोवर गा.पा. वडा नं. ५ स्थायी घर बताउने वर्ष ३० को सुरोज नगरकोटीको डेरा कोठामा रितपूर्वक खानतलासी गर्दा निजको डेरा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल, जम्मा नगद रु. १२,८१,०००।– (बाह्र लाख एकासी हजार), लागु औषध राख्न प्रयोग गरेको स्टिलको बट्टा थान ४ र iPhone मोबाइल थान १ फेला परेको साथै  सो iPhone मोबाइल चेकजाँच गर्दा लागु औषध कारोवार सम्बन्धी विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको म्यासेज समेत देखिएको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि बृत कालिमाटीमा राखी थप अनुसन्धान भईरहेको ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा हाम्रो प्रहरी कार्यक्रम सम्पन्न
२०८२-१०-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पाटन दरबार स्क्वायर ललितपुरमा सोमबार आयोजित विशेष समारोहबीच ‘हाम्रो प्रहरी : नेपाल प्रहरी’ कार्यक्रम-२०८२ सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिका वडा नम्बर १६ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।    समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुरक्षा अमनचयन कायम राख्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै अपराधरहित शान्तिपूर्ण समाज निर्माणका लागि नागरिक र प्रहरीको सौहार्दपूर्ण साझेदारी आवश्यक रहेको बताउनुभयो । कुनै पनि आपराधिक गतिविधिको सूचना प्रहरीलाई दिई अपराधीलाई ‍कानुनी दायरामा ल्याउन सबैले आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई नागरिक प्रहरी सहकार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रहरी सदैव प्रयत्नशील रहेको उहाँले बताउनुभयो । ललितपुर महानगरपालिकाका ‍प्रमुख चिरीबाबु महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व र औचित्य बारे जानकारी दिनुभएको थियो ।  सो अवसरमा मदन कृष्ण श्रेष्, किरण केसी, प्रमोद खरेल, दिपक बज्राचार्य, आस्था राउत, आनन्द कार्की, निशा देशार र यमनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरूले साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालय तथा कुटुम्ब ब्याण्डबाट संयुक्त रूपमा ब्याण्ड डिस्प्ले, प्र्याङ्क स्टार एलिश राईको टिमबाट लागूऔषध सम्बन्धी जनचेतनामूलक नाटक, नेवा नृत्य, चर्या नृत्यु तथा आमा म त खरानीबाट उठेर आए गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ समापन
२०८२-१०-०३

माघ ३, काठमाडौंप्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ठमेलमा शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ को समापन भएको छ ।  सो अवसरमा समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढ्दो शहरीकरणसँगै नेपालमा सवारी साधनको चाप बढेको र यसले सवारी दुर्घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको उल्लेख गर्दै यस सचेतनामूलक अभियानले आगामी दिनमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा योजनाबद्ध रूपमा अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि प्रविधिको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकयाहरूसँग समन्वय र सहकार्य गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी, सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम रेग्मी र राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ का क्रियाकलाप र यस अभियानको उपलब्धि बारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, यातायात व्यवसायीहरू, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   कार्यक्रममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अवधिभरमा गरिएको विभिन्न कार्यक्रमहरूको सन्दर्भमा रहेर तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा कलाकार मनोज गजुरेल, गायक थानेश्वर गौतम, गायिका आस्था राउत, जोन एण्ड द लोकल्स र प्र्याङ्क स्टार एलिश राईको टिमबाट साँस्कृतिक कार्यक्रमका साथै बालचन्द्र बराल र बबिता बानिया (जेरी) बाट लोक दोहोरी, नेपाल प्रहरी संगीत विद्यालयका कर्मचारीहरू, ट्राफिक प्रहरी कर्मचारीहरू र बालकलाकारबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सचेतनाको कमी र लापरवाहीले सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न तथा सडक सभ्यता अभिवृद्धि गर्ने उद्देश्यले यही पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो ।

ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-१०-०२

माघ २ काठमाडौं            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चपली हाईट देखी बुढानिलकण्ठ सम्म र्‍यालि सहित आयोजित औपचारिक कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारी, महानायक राजेश हमाल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।   कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सडक प्रयोग गर्दा अरुले ठक्कर दिन सक्ने वा दुर्घटनामा पार्न सक्ने कुरामा हरेक नागरीक सचेत हुनु पर्ने र स्वयम अनुशासित र सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न बिद्‌यालयका विद्‌यार्थी,समाजसेवी,यातायात व्यवसायी,कलाकार,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।  

काठमाडौंको गोकर्णेश्वरमा ट्राफिक लाईट उद्‌घाटन सम्पन्न
२०८२-१०-०१

पुष ३० काठमाडौं            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौंको गोकर्णेश्वर स्थित नारायणटार पुलको ट्राफिक लाईट उद्‌घाटन भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य ट्राफिक प्रहरी बृत्त बौद्धका प्रहरी निरीक्षक शेखरजंग थापाले राख्नुका साथै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।   कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह  ट्राफिक व्यवस्थापनको मात्र विषय नभएर नागरीक सुरक्षाको विषय समेत रहेको बताउनु भयो । कार्यक्रमका सभापति गोर्कर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले प्रहरीले गरेका सबै अभियान हामी नागरीकको सुरक्षा लागी भएको र प्रहरीका लागी हरेक कार्यमा सहयोग गर्न आफ्नो नगरपालिका तत्पर रहेको बताउनु भयो । कार्यक्रममा बिभिन्न बिद्‌यालयका विद्‌यार्थी,समाजसेवी,यातायात व्यवसायी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।  

सुरक्षा सँग सम्बन्धित बिबिध बिषयमा अन्तर्क्रिया सम्पन्न
२०८२-१०-०१

पुष ३० गते बुधबार “हाम्रो प्रहरी कार्यक्रम” अन्तर्गत आज Cyber Crime, बित्तिय सुरक्षा, बैङकिङ्ग कसुर लगायत बिबिध सुरक्षा संग सम्बन्धित बिषयमा एकदिने प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ  नगरपालिका वडा  ९, प्रहरी वृत्त महाराजगञ्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँसवारीको संयुक्त आयोजनामा मण्डिखाटार स्थित गेटा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।  काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी नायव महानिरिक्षक श्री ओम प्रसाद अधिकारीले अन्तरकृयामा  उठेका विषयहरुको संबोधन गर्नु भयो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा ९ कि अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा ९ मण्डिखाटार स्थित बिभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरु, जनप्रतिनिधिज्यूहरु, स्थानिय समाजसेवी लगायत बिभिन्न पेशामा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।