प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

२०८२-०७-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, १३ असोज

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाबीच नागार्जुन नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बिहिबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की र नागार्जुन नगरपालिकाको तर्फबाट नगरपालिकाका कार्यवाहक प्रमुख शुसिला अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

      सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिकहरूको आधारभुत आवश्यकता शान्ति सुरक्षा भएकोले सिसिटिभि जडानले नागरिकहरूलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुहुँदै विभिन्न अपराधिक घटनाहरूको सफल अनुसन्धान गर्न प्रविधिको प्रयोग गरी प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

     सो कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख शुसिला अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गरी अनुसन्धान गर्न सहज हुने हुँदा अन्य ठाँउहरूमा पनि आवश्यकता अनुसार सिसिटिभी जडान गरी आगामी दिनहरूमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

           नागार्जुन नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । यसका लागि चालू आ.ब. २०८२/०८३ मा २ करोड १२ लाख भुक्तानी हुने गरी नागार्जुन नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।