प्रहरी कन्ट्रोल : १००
नेपा
EN

माननीय गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन

२०८२-०४-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, २३ साउन

माननीय गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौं स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । माननीय गूहमन्त्री लेखकसंग गृह सचिव गोकर्णमणी दुवाडी, प्रहरी महानिरीक्षक दिपक थापा, गृह मन्त्रालयका प्रवक्ता सह-सचिव आनन्द काफ्ले निरीक्षणमा सरिक हुनुहुन्थ्यो ।

निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झट रहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो । लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृह मन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्दै माननीय गृह  मन्त्रीज्यूबाट प्राप्‍त निर्देशनहरुलाई पूर्ण रुपमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, हासिल उपलब्धिहरु, समस्या एवम् चुनौति तथा तालुक मन्त्रालयसंग अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको  थियो ।

कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।