प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८२-०४-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, २२ साउन

            वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन् । 

            पक्राउ मध्ये राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्र बहादुरले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार  रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार पक्राउ गरेको हो । 

            उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
माननीय गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०४-२३

काठमाडौं, २३ साउनमाननीय गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौं स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । माननीय गूहमन्त्री लेखकसंग गृह सचिव गोकर्णमणी दुवाडी, प्रहरी महानिरीक्षक दिपक थापा, गृह मन्त्रालयका प्रवक्ता सह-सचिव आनन्द काफ्ले निरीक्षणमा सरिक हुनुहुन्थ्यो ।निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झट रहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो । लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृह मन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उहाँले बताउनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्दै माननीय गृह  मन्त्रीज्यूबाट प्राप्‍त निर्देशनहरुलाई पूर्ण रुपमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, हासिल उपलब्धिहरु, समस्या एवम् चुनौति तथा तालुक मन्त्रालयसंग अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको  थियो । कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, २२ साउन            काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।              यसैगरी काठमाडौं महानगरपलिका-१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका-१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, २२ साउन             काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही नगरपालिका-११ सतुङ्गल बस्ने पर्सा ठोरी गाउँपालिका-४ निर्मल बस्ती घर भएका ३८ वर्षीय मान बहादुर श्रेष्ठ र सोही नगरपालिका-९ मच्छेगाउँ बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज मोक्तान रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्धार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०४-२०

काठमाडौं, २० साउन    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई NMB Bank को तर्फबाट १ थान रबर बोट, ४ थान लाईफ ज्याकेट, १ थान थ्रो ब्याग र १ सेट  रिपेयर किट हस्तान्तरण गरिएको छ ।     काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्धार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले उद्धार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ । यस विषयलाई मध्यनजर गर्दै NMB Bank को सहयोग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा उक्त विपद् उद्धार सामाग्री हस्तान्तरण गरिएको हो ।      विपद् उद्धार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रामा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि हाल सम्म ९८५ वटा  लाईफ ज्याकेट र निजि क्षेत्रबाट ६ वटा  रबर बोट प्राप्त गरिसकेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने NMB Bank लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट कदर पत्र सहित धन्यबाद व्यक्त गर्दै यसको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।    कार्यक्रममा NMB Bank का प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्कतिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै NMB Bank ले आगामी दिनहरुमा पनि समन्वय,सहकार्य र सहयोगका लागी सधै तयार रहेको बताउनु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, NMB Bank का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०४-१८

    मिति २०८२/०४/१८ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२।०४।१६ गतेको पत्रले २०८२/०४।१५ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुमा,  प्रहरी नायव निरीक्षक दिपक गिरी र प्रहरी नायव निरीक्षक देव शंकर खड्का हुनुहुन्छ ।         दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका जुनियर प्रहरी अधिकृतहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।            दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी कर्मचारीहरुको तर्फबाट प्रहरी नायव निरीक्षक दिपक गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव, अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायतका सिनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न
२०८२-०४-१५

काठमाडौं, १५ साउन      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा विभिन्न समयमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहनुभएका पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुसँग काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका ( Safer KathmanduValley)”  त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार सम्पन्न भएको छ ।            कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विभिन्न समयमा यस कार्यालयका प्रमुखको रुपमा कार्यरत रही आफ्नो कार्य दक्षता र उच्च व्यावसायिक क्षमता प्रस्तुत गरी सफल समेत भईसक्नु भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुबाट व्यक्त अनुभव, बौद्धिकता, व्यावसायिक सीप र कार्य कुशलतालाई सुझाव र रायको रुपमा संकलन गरी यस कार्यालयबाट तयार पारिदैँ गरेको सुरक्षित काठमाडौ उपत्यका Safer Valley कार्य योजनालाई थप सशक्त बनाउन यस कार्यक्रममको आयोजना गरिएको बताउनुभयो  ।        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिप शम्सेर ज.ब.राले सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाको उद्धेश्य र महत्व समेटिएको क्रियाकलाप लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।         कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व आयुक्त तथा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक माननीय केशव प्रसाद बराल,पूर्व  प्रहरी अतिरीक्त महानिरीक्षकहरू डा.गोविन्द प्रसाद थापा, अनन्त राम भट्टराई,रवि कान्त अर्याल,रमेश कुमार श्रेष्ठ,बिज्ञानराज शर्मा, उत्तमराज सुवेदी र किरण बज्राचार्य तथा पूर्व प्रहरी नायव महानिरीक्षकहरू भुवन चन्द्र भट्ट र मनोज नेउपानेले आ-आफ्ना राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।       कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू,प्रहरी नायव उपरीक्षकहरू लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।