प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

२०८२-०४-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, १४ साउन

             वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

            पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका-७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् । 

            पक्राउ मध्ये सुजनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९० हजार रूपैयाँ, नविनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र राजले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका-३ बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका-३२ बाट सोमबार तथा नविनलाई काठमाडौं महानगरपालिका-९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट मंगलबार पक्राउ गरेको हो । 

            उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

सम्बन्धित समाचार
काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न
२०८२-०४-१५

काठमाडौं, १५ साउन      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा विभिन्न समयमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहनुभएका पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुसँग काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका ( Safer KathmanduValley)”  त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार सम्पन्न भएको छ ।            कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विभिन्न समयमा यस कार्यालयका प्रमुखको रुपमा कार्यरत रही आफ्नो कार्य दक्षता र उच्च व्यावसायिक क्षमता प्रस्तुत गरी सफल समेत भईसक्नु भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुबाट व्यक्त अनुभव, बौद्धिकता, व्यावसायिक सीप र कार्य कुशलतालाई सुझाव र रायको रुपमा संकलन गरी यस कार्यालयबाट तयार पारिदैँ गरेको सुरक्षित काठमाडौ उपत्यका Safer Valley कार्य योजनालाई थप सशक्त बनाउन यस कार्यक्रममको आयोजना गरिएको बताउनुभयो  ।        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिप शम्सेर ज.ब.राले सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाको उद्धेश्य र महत्व समेटिएको क्रियाकलाप लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।         कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व आयुक्त तथा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक माननीय केशव प्रसाद बराल,पूर्व  प्रहरी अतिरीक्त महानिरीक्षकहरू डा.गोविन्द प्रसाद थापा, अनन्त राम भट्टराई,रवि कान्त अर्याल,रमेश कुमार श्रेष्ठ,बिज्ञानराज शर्मा, उत्तमराज सुवेदी र किरण बज्राचार्य तथा पूर्व प्रहरी नायव महानिरीक्षकहरू भुवन चन्द्र भट्ट र मनोज नेउपानेले आ-आफ्ना राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।       कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू,प्रहरी नायव उपरीक्षकहरू लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ
२०८२-०४-१४

काठमाडौं, १४ साउन            नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुली दुधौली नगरपालिका-१० कोकटी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका ३९ वर्षीय लाल बहादुर घिसिङ रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै सुनका गरगहना खरिद गर्ने भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागडी नगरपालिका-१४ बुईपा घर भएका ३९ वर्षीय भक्त बहादुर गदाल विकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।             प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भनि नक्क्ली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको खुल्न आएको छ । साथै उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रूपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।             प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना. ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
२०८२-०४-१४

काठमाडौं, १४ साउन       काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाको आयोजना एवम् सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणको सहकार्यमा नागार्जुन नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।          लागूऔषध दुर्व्यसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।         सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।             कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले आपसी समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।             कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीले यस कार्यक्रमले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।            कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका अध्यक्ष प्रताप दानीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।              नागार्जुन नगरपालिकाका प्रवक्ता एवम् नागार्जुन नगरपालिका-५ का वडा अध्यक्ष महेश रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेलले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।   कार्यक्रममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका पदाधिकारीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०४-१३

  मिति २०८२/०४/१३ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२।०४।१२ गतेको निर्णयानुसार प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरु र प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । बढुवा हुनु भएका प्राविधिक प्रहरी नायव निरीक्षकहरु र प्राविधिक प्रहरी सहायक निरीक्षकहरु,  प्रा.प्र.ना.नि. राम बहादुर खड्का, प्रा.प्र.ना.नि. विष्णु बहादुर लामा, प्रा.प्र.स.नि. कमल कुंवर, प्रा.प्र.स.नि. शिश कुमार दनुवार, प्रा.प्र.स.नि. ईन्द्र बहादुर तामाङ, प्रा.प्र.स.नि. समर्थन कुसाथा, प्रा.प्र.स.नि. रमिला राई हुनुहुन्छ ।         दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका सम्पूर्ण जुनियर प्रहरी अधिकृतहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।            दर्ज्यानि चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी कर्मचारीहरुको तर्फबाट प्राविधिक प्रहरी नायव निरीक्षक राम बहादुर खड्काले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव, अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायतका सिनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०४-१२

काठमाडौं, १२ साउन            वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् ।             पक्राउ मध्ये हेम बहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रूपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र मैया देबीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हेम बहादुरलाई टोखा नगरपालिका-८ बाट शुक्रबार, ईश्वरीलाई टोखा नगरपालिका-१० बाट शनिबार र मैया देबीलाई चन्द्रागिरी नगरपालिका-५ बाट आइतबार पक्राउ गरेको हो ।              पक्राउ मध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैया देबीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।