प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ

२०८२-०३-१२

  • A
  • A-
  • A+
Share

ललितपुर, १२ असार

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको  

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।