प्रहरी कन्ट्रोल : १००
नेपा
EN

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।

२०८२-०२-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, ९ जेठ

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।   

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत चन्द्रागिरी नगरपालिकासँगको संयुक्त आयोजना एवम् नेपाल औषधी व्यवसायी संघ काठमाडौंको सहकार्यमा ग्रीनल्याण्ड बैंक्वेट थानकोटमा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

            सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । 

            कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सुरक्षित उपत्यका बनाउन विभिन्न कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान संचालनमा ल्याइएको बताउनुभयो । लागूऔषधको बढ्दो प्रयोगले समाजमा आपराधिक  क्रियाकलापमा वृद्धि भएको उल्लेख गर्दै यस्ता आपराधिक क्रियाकलाप रोक्न नागरिक स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

            कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले काठमाडौ उपत्यकाको प्रमुख नाकाको रूपमा रहेको नागढुङ्गा नाका लागूपदार्थको ओसारपसारमा बढी प्रयोगमा रहेको उल्लेख गर्दै लागूऔषध ओसारपसार, दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले प्रहरीसँग थप संवेदनशील भई सहकार्य र समन्वय गर्ने बताउनुभयो 

            कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप-प्रमुख बसन्ती श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र राष्ट्रिय कलाकार दिपक राज गिरीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

             काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनरहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।  

            कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।