प्रहरी कन्ट्रोल : १००
नेपा
EN

उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, ४ जेठ   

       काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह, प्रहरी संगठनको प्राथमिकता रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने  समेत उहाँले बताउनुभयो । 

             प्रहरी महानिरीक्षक थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिनुभयो । सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । 

            प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो । 

     प्रहरी महानिरीक्षक थापाले नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । साथै नागरिकका समस्यालाई सम्बोधन गर्न स्थानीय तहका सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी उच्च मनोबल सहित थप उत्प्रेरित बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

            काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।