प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।

२०८२-०२-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३१ वैशाख

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।   

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

       लागूऔषध दुर्व्यसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । 

            कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले देशैभरी समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

            कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै फलदायी हुने उल्लेख गर्दे सबै सरोकारवाला निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

            कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला, प्राध्यापक डा. केशव राज खड्का र विशेषज्ञ प्राध्यापक डा. केदार नरसिंह केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।  

            कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।