प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०८१-१०-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०८ माघ

      मिति २०८१-१०-०८ गते समुदाय - प्रहरी साझेदारी अभियान अन्तर्गत ललितपुर महानगरपालिका वडा नं.१३ स्थित माछापुच्छ्रे ईन्टरनेशनल स्कुलको सभाहलमा जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

       अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्रत्येक नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुको निमित्त प्रहरीसगँ सहकार्य गर्नु हरेक नागरिकको अधिकार सगैं कर्तव्य पनि भएको बताउदै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्वपुर्ण रहेकाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय-प्रहरी साझेदारीको अवधारणा बमोजिम समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गर्नु भयो ।

         साथै नेपाल प्रहरी तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयको आधिकारीक फेसबुक पेजबाट समेत समयानुकुल सुरक्षा सावधानीको उपायहरुको विषयमा जन चेतनामूलक सामाग्रीहरु समेत सेयर गरिएको हुदा सो सम्बन्धमा आफु तथा आफ्नो परिवारलाई समेत सजग गराई विभिन्न प्रकृतिका अपराध तथा ठगीबाट बच्न समेत अनुरोध गर्नु भयो ।

         ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख श्याम कृष्ण अधिकारी, सामुदायिक सेवा केन्द्र तिखेदेवलका पदाधिकारीहरु, स्थानिय जन प्रतिनिधिहरु, अन्य प्रहरी कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, विभिन्न क्लब, आमा समूह, समाजसेवी, संचारकर्मी, यातायात क्षेत्रका प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरु, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानिय व्यवसायी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८३-०६-२९

२०८३-०६-२९            काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।