प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

२०८१-०८-२८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २८ मंसिर

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाण्डौ शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भिमदत्त नगरपालिका-२ घर भई काठमाण्डौ महानगरपालिका-६ बौद्ध बस्ने ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन् ।

पक्राउ मध्ये सुदिपले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख १० हजार रूपैयाँ र भानुले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई काठमाण्डौ गल्कोपाखाबाट बुधबार र भानुलाई काठमाण्डौ बौद्धबाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

सम्बन्धित समाचार
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिका, वडा नं.६ बौद्धबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८१-०९-११

काठमाण्डौ, ११ पुसकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौ महानगरपालिका, वडा नं. ६ बौद्धबीच काठमाण्डौ  महानगरपालिका, वडा नम्बर ६ बौद्ध क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ।काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाण्डौ महानगरपालिका, वडा नम्बर ६ बौद्धका वडा अध्यक्ष भुवन लामाले रु.१,२६,९००००।- (अक्षरेपी एक करोड छब्बीस लाख नब्बे हजार मात्र) रकमको सिसिटिभी जडान गर्ने उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो । सो कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले  सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा काठमाण्डौ महानगरपालिका, वडा नम्बर ६ बौद्धसँग  सहकार्य गर्दै जाने बताउनुभयो । काठमाण्डौ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सिसिटिभि जडान गराउने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ध्रुर्बराज राउत, प्रहरी वरिष्‍ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ महानगरपालिका, वडा नम्बर ६ बौद्धका पदाधिकारीहरू एवम् प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०९-०७

काठमाण्डौ, ७ पुस      तालुक श्री गृह मन्त्रालय, (सचिवस्तर) को मिति २०८१।०९।०५ गतेको निर्णयले, मिति २०८१।०९।०७ गतेदेखि, लागु हुने गरी, प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को, उपनियम २ बमोजिम, प्रहरी निरीक्षक पदबाट, प्रहरी नायव उपरीक्षक पदमा, पदोन्नती हुनु भएका प्रहरी नायव उपरीक्षक, शुशिल कुमार पाण्डेलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज आइतवार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न ।
२०८१-०९-०५

नेपाल प्रहरी वार्षिक कार्य सम्झौता २०८१, बमोजिम नयाँ जिम्मेवारीमा आउने प्रहरी कर्मचारीहरुको लागि अभिमुखीकरण  (Induction) र जिम्मेवारी पश्‍चात हस्तान्तरण ( Handover) को प्रक्रियालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने साथै प्रहरी प्रशासन कार्यमा प्रभावकारिता अभिवृद्धी गर्नु पर्ने उद्वेश्यका साथ यस कार्यालय तथा मातहत समेतका गरी मिति २०८१।०९।०४ गते प्र.नि.-१० सहित जम्मा ३५ जना र आज मिति २०८१।०९।०५ गते प्र.नि.-१० सहित जम्मा ४४ जना गरी कुल जम्मा ७९ जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा  १ (एक) दिनको अभिमुखिकरण (Induction)  अनुशिक्षण सम्पन्न गरिएको छ । अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक ध्रुर्बराज राउतले काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुको प्रहरी सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

प्रहरी नायव महानिरीक्षक ध्रुबराज राउतको स्वागत कार्यक्रम सम्पन्न ।
२०८१-०९-०२

काठमाण्डौ, ०२ पुस        नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०८।१७ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनु भई मिति २०८१।०८।२७ गतेको निर्णय अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरी सरुवा भई हाजिर हुन आउनुभएका प्रहरी नायव महानिरीक्षक ध्रुबराज राउतलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आज मंगलवार आयोजित कार्यक्रमका बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।             कार्यक्रममा, प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट दुई जना पक्राउ
२०८१-०८-२८

काठमाण्डौ, २८ मंसिरकाठमाण्डौ महानगरपालिका-१४ बल्खुस्थित बल्खु पुलमुनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राभेट ४ ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका घर भई काठमाण्डौ काँडाघारी बस्ने २३ वर्षीय राजन खड्का र काभ्रे नमोबुद्द नगरपालिका-९ घर भई काठमाण्डौ थली बस्ने ३० वर्षीय कार्साङ लामा रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०२० प ५०३३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरीमा १ हजार २ सय २३ जनाका लागि नयाँ भर्ना आव्हान
२०८१-०८-२१

काठमाण्डौ, २१ मंसिर नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाण्डौ, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।