प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

२०८१-०८-२०

  • A
  • A-
  • A+
Share

  काठमाण्डौ, २० मंसिर

   काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिबार काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भयो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जले विगतको विषम् परिस्थितिको समयमा गरेको उद्दारको कार्यलाई प्रशंसा गर्दै , आगामी दिनहरुमा समेत काठमाण्डौ उपत्यका जस्तो अति संबेदनशिल क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विशेष समारोह, राजनैतिक कार्यक्रमहरुको सुरक्षा तथा हरेक विपद्को धडीमा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी ( Stand By)  अवस्थामा रहन निर्देशन दिनुभयो ।

     काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ रिजर्भ युनिट भएकाले यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई हतियार तथा लाठी प्रयोग सम्बन्धमा दक्षता प्रदानको निमित्त समय समयमा अनुशिक्षण गर्न निर्देशन दिनु हुदै भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा न्युनतम बल प्रयोगको सिद्दान्त अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।

  आधुनिक समयमा नेपाल प्रहरी कर्मचारी समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी प्रहरी कर्मचारीलाई तालीमको समयमा प्राविधिकको समेत ज्ञान प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन बताउनु हुदै हरेक प्रहरी कर्मचारीले तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भयो ।  सेवा प्रवाहको स्तरमा प्रहरी कर्मचारीहरुको आचरणले प्रभाव पार्ने हुदा बोलि, वचन र व्यवहारमा सुधार गर्दै दुरुस्त पोशाकको प्रयोग गरी स्मार्ट प्रहरीको परिचय दिन समेत निर्देशन दिनु भयो ।

   प्रहरी उपरीक्षकद्वय रन्जु सिग्देल र राजेन्द्र प्रशाद धमलाले सम्बन्धित कार्यालयको काम कार्वाहीको सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।