प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा २०८१ सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको

२०८१-०६-११

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ११ असोज

         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिने छ ।

 

क)        चाडपर्वमा शान्ति, सुरक्षाका लागि खटिने प्रहरी:

१.      यो सुरक्षा योजना मिति २०८।०६।१२ गतेदेखि बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।

२.      काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्ती, मोवाइल गश्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, CCTV, Walk Through Gate, Drone बाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।

३.      बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।

४.      यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न ३४ स्थानमा ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष (Public Help Desk) स्थापना गरिने छ ।

५.      काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।

६.      उक्त कार्यका लागि ६६३० जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

 

ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:

           १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने, तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।

२.         उक्त कार्यका लागि १७५७ जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ८३८७ हुनेछ ।

घ)      थप प्रहरी जनशक्ति आवश्यक परेमा  रिजर्भमा राखिएको ।

 

प्रहरी सम्पर्कको लागि:-

•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,

•           प्रहरी कन्ट्रोल- १००, ०१-५७२१०१५ र ९८५१२८३०२६,

•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३, ९८५१२९५१००

•           महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप -१०४ ।

          १०० मा SMS

साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:

निम्न:

१.   यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।

२.   मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।

३.   घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरौँ, घर तथा पसलहरुमा CCTV जडान गरी सुरक्षित बनाऔं  ।

४.   लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गरौँ ।

५.   चोरी र लुटपाटबाट बच्न अपरिचित व्यक्तिसगँ नगद कारोवार कदापि नगरौं ।

६.   सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।

७.   लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।

८.   सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।

९. सुन र डलर साट्ने नाममा नक्कली सुन र कागजको पोको देखाई डलर भनी झुक्याई हुने ठगी बाट बचौं ।

१०. म्यासेन्जर, भाईवर र ह्वाट्सयाप लगायतका सामाजिक सञ्‍जालहरुमा चिट्ठा पर्यो भनी आउने म्यासेजको बिस्वास नगरौं ।

११. पट्का, भुईचम्पा, रकेट जस्ता विस्फोटक पदार्थको प्रयोग र बेचविखन नगरौं ।

१२. धम्कीपूर्ण फोन आएमा सम्भव भएसम्म मोबाईलमा रेकर्ड गरी तुरुन्त प्रहरीमा खबर गरौं ।

१३. कालोबजारी, अबैध मदिरा बिक्री वितरण, चन्दा, अपहरण, फिरौती र देह ब्यापारको सुचना समयमै दिने गरौं ।

१४. नगद, वहुमूल्य सामान, गरगहना र महँगा मोवाइल फोन सहित भीडभाडमा नजाऔँ ।

अन्त्यमा,

कानूनभन्दा कोही छैन माथी, सुख दु:खमा प्रहरी नै हो साथी”!

 

प्रहरी वरिष्‍ठ उपरीक्षक

(विनोद घिमिरे  )

            प्रवक्ता

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी

सम्पर्क: ९८५१२६०४६०

सम्बन्धित समाचार
लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ तथा बाह्र लाख एकासी हजार नगद सहित मानिस नियन्त्रणमा
२०८२-१०-०६

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटी स्थित टंकेश्वरमा केही व्यक्तिहरुले लागु औषध बिक्री वितरण तथा ओसार पसार गर्ने कार्य गरी रहेका छन् भन्ने खबर पश्चात तत्काल बृत कालिमाटीबाट सादा पोशाकको टोली उक्त स्थानमा खटि गई जिल्ला मकवानपुर ईन्द्रसरोवर गा.पा. वडा नं. ५ स्थायी घर बताउने वर्ष ३० को सुरोज नगरकोटीको डेरा कोठामा रितपूर्वक खानतलासी गर्दा निजको डेरा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल, जम्मा नगद रु. १२,८१,०००।– (बाह्र लाख एकासी हजार), लागु औषध राख्न प्रयोग गरेको स्टिलको बट्टा थान ४ र iPhone मोबाइल थान १ फेला परेको साथै  सो iPhone मोबाइल चेकजाँच गर्दा लागु औषध कारोवार सम्बन्धी विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको म्यासेज समेत देखिएको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि बृत कालिमाटीमा राखी थप अनुसन्धान भईरहेको ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा हाम्रो प्रहरी कार्यक्रम सम्पन्न
२०८२-१०-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पाटन दरबार स्क्वायर ललितपुरमा सोमबार आयोजित विशेष समारोहबीच ‘हाम्रो प्रहरी : नेपाल प्रहरी’ कार्यक्रम-२०८२ सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिका वडा नम्बर १६ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।    समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुरक्षा अमनचयन कायम राख्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै अपराधरहित शान्तिपूर्ण समाज निर्माणका लागि नागरिक र प्रहरीको सौहार्दपूर्ण साझेदारी आवश्यक रहेको बताउनुभयो । कुनै पनि आपराधिक गतिविधिको सूचना प्रहरीलाई दिई अपराधीलाई ‍कानुनी दायरामा ल्याउन सबैले आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई नागरिक प्रहरी सहकार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रहरी सदैव प्रयत्नशील रहेको उहाँले बताउनुभयो । ललितपुर महानगरपालिकाका ‍प्रमुख चिरीबाबु महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व र औचित्य बारे जानकारी दिनुभएको थियो ।  सो अवसरमा मदन कृष्ण श्रेष्, किरण केसी, प्रमोद खरेल, दिपक बज्राचार्य, आस्था राउत, आनन्द कार्की, निशा देशार र यमनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरूले साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालय तथा कुटुम्ब ब्याण्डबाट संयुक्त रूपमा ब्याण्ड डिस्प्ले, प्र्याङ्क स्टार एलिश राईको टिमबाट लागूऔषध सम्बन्धी जनचेतनामूलक नाटक, नेवा नृत्य, चर्या नृत्यु तथा आमा म त खरानीबाट उठेर आए गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ समापन
२०८२-१०-०३

माघ ३, काठमाडौंप्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ठमेलमा शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ को समापन भएको छ ।  सो अवसरमा समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढ्दो शहरीकरणसँगै नेपालमा सवारी साधनको चाप बढेको र यसले सवारी दुर्घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको उल्लेख गर्दै यस सचेतनामूलक अभियानले आगामी दिनमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा योजनाबद्ध रूपमा अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि प्रविधिको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकयाहरूसँग समन्वय र सहकार्य गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी, सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम रेग्मी र राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ का क्रियाकलाप र यस अभियानको उपलब्धि बारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, यातायात व्यवसायीहरू, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   कार्यक्रममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अवधिभरमा गरिएको विभिन्न कार्यक्रमहरूको सन्दर्भमा रहेर तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा कलाकार मनोज गजुरेल, गायक थानेश्वर गौतम, गायिका आस्था राउत, जोन एण्ड द लोकल्स र प्र्याङ्क स्टार एलिश राईको टिमबाट साँस्कृतिक कार्यक्रमका साथै बालचन्द्र बराल र बबिता बानिया (जेरी) बाट लोक दोहोरी, नेपाल प्रहरी संगीत विद्यालयका कर्मचारीहरू, ट्राफिक प्रहरी कर्मचारीहरू र बालकलाकारबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सचेतनाको कमी र लापरवाहीले सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न तथा सडक सभ्यता अभिवृद्धि गर्ने उद्देश्यले यही पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो ।

ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-१०-०२

माघ २ काठमाडौं            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चपली हाईट देखी बुढानिलकण्ठ सम्म र्‍यालि सहित आयोजित औपचारिक कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारी, महानायक राजेश हमाल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।   कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सडक प्रयोग गर्दा अरुले ठक्कर दिन सक्ने वा दुर्घटनामा पार्न सक्ने कुरामा हरेक नागरीक सचेत हुनु पर्ने र स्वयम अनुशासित र सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न बिद्‌यालयका विद्‌यार्थी,समाजसेवी,यातायात व्यवसायी,कलाकार,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।  

सुरक्षा सँग सम्बन्धित बिबिध बिषयमा अन्तर्क्रिया सम्पन्न
२०८२-१०-०१

पुष ३० गते बुधबार “हाम्रो प्रहरी कार्यक्रम” अन्तर्गत आज Cyber Crime, बित्तिय सुरक्षा, बैङकिङ्ग कसुर लगायत बिबिध सुरक्षा संग सम्बन्धित बिषयमा एकदिने प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ  नगरपालिका वडा  ९, प्रहरी वृत्त महाराजगञ्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँसवारीको संयुक्त आयोजनामा मण्डिखाटार स्थित गेटा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।  काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी नायव महानिरिक्षक श्री ओम प्रसाद अधिकारीले अन्तरकृयामा  उठेका विषयहरुको संबोधन गर्नु भयो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा ९ कि अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा ९ मण्डिखाटार स्थित बिभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरु, जनप्रतिनिधिज्यूहरु, स्थानिय समाजसेवी लगायत बिभिन्न पेशामा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

काठमाडौंको गोकर्णेश्वरमा ट्राफिक लाईट उद्‌घाटन सम्पन्न
२०८२-१०-०१

पुष ३० काठमाडौं            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौंको गोकर्णेश्वर स्थित नारायणटार पुलको ट्राफिक लाईट उद्‌घाटन भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य ट्राफिक प्रहरी बृत्त बौद्धका प्रहरी निरीक्षक शेखरजंग थापाले राख्नुका साथै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।   कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह  ट्राफिक व्यवस्थापनको मात्र विषय नभएर नागरीक सुरक्षाको विषय समेत रहेको बताउनु भयो । कार्यक्रमका सभापति गोर्कर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले प्रहरीले गरेका सबै अभियान हामी नागरीकको सुरक्षा लागी भएको र प्रहरीका लागी हरेक कार्यमा सहयोग गर्न आफ्नो नगरपालिका तत्पर रहेको बताउनु भयो । कार्यक्रममा बिभिन्न बिद्‌यालयका विद्‌यार्थी,समाजसेवी,यातायात व्यवसायी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।