माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
२०८०-०९-२५
- A
- A-
- A+
काठमाण्डौ, २४ पुस
माल्टा
पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई
हाल काठमाण्डौ टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड
नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम
दाहाल रहेका छन् ।
वैदेशिक
रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम
लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंक प्रसादले १ जना पीडितबाट ३ लाख रूपैयाँ र विक्रमले
१ जनालाई मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ९०
हजार रूपैयाँ ठगी गरेका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय
मिनभवनबाट खटिएको प्रहरीले टंक प्रसादलाई काठमाण्डौ बसुन्धराबाट र विक्रमलाई
ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।