प्रहरी कन्ट्रोल : १००
नेपा
EN

का.उ.प्र.का रानीपोखरीद्वारा २०८० सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको

२०८०-०६-२२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २१ असोज

         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिने छ ।

 क)        चाडपर्वमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:

१.    यो सुरक्षा योजना मिति २०८०।०६।२१ गतेदेखि बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।

२.   काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्ती, मोवाइल गश्ती, क्यूआरटि, सिआरभी, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, आकश्मिक चेकजाँच, CCTV, Walk Through Gate, Drone, Body worn camera बाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।

३.     बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।

४.    यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १७ (काठमाण्डौ-१२, ल.पु.-३ र भ.पु-२) स्थानमा जनपद प्रहरी र १४ स्थानमा ट्राफिक प्रहरीद्वारा गरी जम्मा ३१ स्थानमा यात्रु सहायता कक्ष (Help Desk) स्थापना गरिएको छ ।

५.   काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन    कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।

६.     उक्त कार्यका लागि ५८३३ जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:

          १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने, तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।

            २.  उक्त कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ७६३३ हुनेछ ।

प्रहरी सम्पर्कको लागि:-

•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,

•           प्रहरी कन्ट्रोल- १००, ०१-४२२८४३५ र ९८५१२८३०२६,

•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३,

•           महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप -१०४ ।

साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:

निम्न:

१.         अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।

२.         नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।

३.         घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ / छैन एकिन गरौँ र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।

४.         लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्ने गरौँ ।

५.         सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।

६.         सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।

७.         लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।

८.         मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।

९.         ट्राफिक नियमको सदैव पालना गरौँ ।

१०.       हर्षोल्लास सहित चाडपर्व मनाऔँ, अपराध कार्यलाई भगाऔँ ।

अन्त्यमा,

“यहाँहरु ढुक्कले चाडपर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८३-०६-२९

२०८३-०६-२९            काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।