अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ
२०८०-०३-१२
- A
- A-
- A+
काठमाण्डौ, १२ असार
विभिन्न अनलाइन
ग्याम्बलिङ/अनलाइन क्यासिनो गेमहरूमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने
बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई
सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाण्डौ
महानगरपालिका-१४ कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा
उपमहानगरपालिका-८ घर भई हाल काठमाण्डौ महानगरपालिका- १४ कलङ्की बस्ने २५ वर्षीय विबेक
चौधरी, काठमाण्डौ महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र
नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाण्डौ
महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् ।
राजा चौधरी
समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौका
विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २
एकाउन्ट्स भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग
गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको
प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक
कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।