प्रहरी कन्ट्रोल : १००
नेपा
EN

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चापम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

            गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।

            राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो ।

            कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो ।

            उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

            कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  ।

            आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

            कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

            कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

            कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरुविभिन्न संघसंस्थाका प्रतिनिधिहरुनागरिक समाजसंचारकर्मीहरुविद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

            विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार
लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ तथा बाह्र लाख एकासी हजार नगद सहित मानिस नियन्त्रणमा
२०८२-१०-०६

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटी स्थित टंकेश्वरमा केही व्यक्तिहरुले लागु औषध बिक्री वितरण तथा ओसार पसार गर्ने कार्य गरी रहेका छन् भन्ने खबर पश्चात तत्काल बृत कालिमाटीबाट सादा पोशाकको टोली उक्त स्थानमा खटि गई जिल्ला मकवानपुर ईन्द्रसरोवर गा.पा. वडा नं. ५ स्थायी घर बताउने वर्ष ३० को सुरोज नगरकोटीको डेरा कोठामा रितपूर्वक खानतलासी गर्दा निजको डेरा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल, जम्मा नगद रु. १२,८१,०००।– (बाह्र लाख एकासी हजार), लागु औषध राख्न प्रयोग गरेको स्टिलको बट्टा थान ४ र iPhone मोबाइल थान १ फेला परेको साथै  सो iPhone मोबाइल चेकजाँच गर्दा लागु औषध कारोवार सम्बन्धी विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको म्यासेज समेत देखिएको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि बृत कालिमाटीमा राखी थप अनुसन्धान भईरहेको ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा हाम्रो प्रहरी कार्यक्रम सम्पन्न
२०८२-१०-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पाटन दरबार स्क्वायर ललितपुरमा सोमबार आयोजित विशेष समारोहबीच ‘हाम्रो प्रहरी : नेपाल प्रहरी’ कार्यक्रम-२०८२ सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिका वडा नम्बर १६ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।    समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुरक्षा अमनचयन कायम राख्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै अपराधरहित शान्तिपूर्ण समाज निर्माणका लागि नागरिक र प्रहरीको सौहार्दपूर्ण साझेदारी आवश्यक रहेको बताउनुभयो । कुनै पनि आपराधिक गतिविधिको सूचना प्रहरीलाई दिई अपराधीलाई ‍कानुनी दायरामा ल्याउन सबैले आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई नागरिक प्रहरी सहकार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रहरी सदैव प्रयत्नशील रहेको उहाँले बताउनुभयो । ललितपुर महानगरपालिकाका ‍प्रमुख चिरीबाबु महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व र औचित्य बारे जानकारी दिनुभएको थियो ।  सो अवसरमा मदन कृष्ण श्रेष्, किरण केसी, प्रमोद खरेल, दिपक बज्राचार्य, आस्था राउत, आनन्द कार्की, निशा देशार र यमनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरूले साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालय तथा कुटुम्ब ब्याण्डबाट संयुक्त रूपमा ब्याण्ड डिस्प्ले, प्र्याङ्क स्टार एलिश राईको टिमबाट लागूऔषध सम्बन्धी जनचेतनामूलक नाटक, नेवा नृत्य, चर्या नृत्यु तथा आमा म त खरानीबाट उठेर आए गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ समापन
२०८२-१०-०३

माघ ३, काठमाडौंप्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ठमेलमा शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ को समापन भएको छ ।  सो अवसरमा समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढ्दो शहरीकरणसँगै नेपालमा सवारी साधनको चाप बढेको र यसले सवारी दुर्घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको उल्लेख गर्दै यस सचेतनामूलक अभियानले आगामी दिनमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा योजनाबद्ध रूपमा अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि प्रविधिको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकयाहरूसँग समन्वय र सहकार्य गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी, सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम रेग्मी र राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ का क्रियाकलाप र यस अभियानको उपलब्धि बारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, यातायात व्यवसायीहरू, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   कार्यक्रममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अवधिभरमा गरिएको विभिन्न कार्यक्रमहरूको सन्दर्भमा रहेर तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा कलाकार मनोज गजुरेल, गायक थानेश्वर गौतम, गायिका आस्था राउत, जोन एण्ड द लोकल्स र प्र्याङ्क स्टार एलिश राईको टिमबाट साँस्कृतिक कार्यक्रमका साथै बालचन्द्र बराल र बबिता बानिया (जेरी) बाट लोक दोहोरी, नेपाल प्रहरी संगीत विद्यालयका कर्मचारीहरू, ट्राफिक प्रहरी कर्मचारीहरू र बालकलाकारबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सचेतनाको कमी र लापरवाहीले सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न तथा सडक सभ्यता अभिवृद्धि गर्ने उद्देश्यले यही पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो ।

ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-१०-०२

माघ २ काठमाडौं            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चपली हाईट देखी बुढानिलकण्ठ सम्म र्‍यालि सहित आयोजित औपचारिक कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारी, महानायक राजेश हमाल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।   कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सडक प्रयोग गर्दा अरुले ठक्कर दिन सक्ने वा दुर्घटनामा पार्न सक्ने कुरामा हरेक नागरीक सचेत हुनु पर्ने र स्वयम अनुशासित र सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न बिद्‌यालयका विद्‌यार्थी,समाजसेवी,यातायात व्यवसायी,कलाकार,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।  

सुरक्षा सँग सम्बन्धित बिबिध बिषयमा अन्तर्क्रिया सम्पन्न
२०८२-१०-०१

पुष ३० गते बुधबार “हाम्रो प्रहरी कार्यक्रम” अन्तर्गत आज Cyber Crime, बित्तिय सुरक्षा, बैङकिङ्ग कसुर लगायत बिबिध सुरक्षा संग सम्बन्धित बिषयमा एकदिने प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ  नगरपालिका वडा  ९, प्रहरी वृत्त महाराजगञ्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँसवारीको संयुक्त आयोजनामा मण्डिखाटार स्थित गेटा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।  काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी नायव महानिरिक्षक श्री ओम प्रसाद अधिकारीले अन्तरकृयामा  उठेका विषयहरुको संबोधन गर्नु भयो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा ९ कि अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा ९ मण्डिखाटार स्थित बिभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरु, जनप्रतिनिधिज्यूहरु, स्थानिय समाजसेवी लगायत बिभिन्न पेशामा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

“सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” सम्बन्धी सचेतनामुलक र्‍याली सम्पन्न
२०८२-१०-०१

“ सभ्य नागरीकको चिनारी, सडक दुर्घटना न्यूनिकरण हामी सबैको जिम्मेवारी” भन्ने राष्ट्रिय नाराका साथ  “सडक दुर्घटना  न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२”  सम्बन्धी सचेतनामुलक र्‍याली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यता साथै सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका अध्यक्ष श्री रविन्द्र थापाको अध्यक्षातामा कोटेश्वर ट्राफिक प्रभाग देखी सुरु भई जडिबुटी अरनिको बषपार्कमा औपचारिक कार्यक्रम गरी  सम्पन्न भएको छ ।   प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो साथै बागमति प्रदेश सभा सदस्य सुनिल के.सि., अखिल नेपाल यातायात मजदुर सघं नेपालका अध्यक्ष श्री दिपक के.सि. नेपाल अरनिको यातायात सेवा प्र.लि.का अध्यक्ष श्री केदार क्षेत्री लगायत बिभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  कार्यक्रमका  प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अधिकारीले ट्राफिक नियमप्रती सबैले सकारात्मक सोचको विकाश गर्नु पर्ने बताउनु हुँदै  ट्राफिक प्रहरी र यातायातका मजदुर दुबैको साझेदारी र एक्यवद्धताले मात्र सडक सुरक्षामा थप टेवा पुर्‍याउने धारणा व्यक्त गर्नु भयो । उक्त कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सामशाह पथ, ट्राफिक प्रहरी प्रभाग,प्रहरी प्रभाग कोटेश्वर,  र अरनिको यातायात सेवा प्रा.लिको सहकार्यमा सम्पन्न भएको हो ।